Logo

दिपक मनाङेलाई सिआईबीले गरायो अदालतमा उपस्थित

काठमाडौं– काठमाडौंस्थित सानोभर्‍याङको कम्फर्ट हाउजिङबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई अदालततर्फ लगिएको छ । प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई अदालतमा उपस्थित गराएको हो । अदालतमा उपस्थित गराएपछि उनलाई कारागार चलान गर्ने तयारी छ ।

गत मंगलबार सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । गुण्डा नाइकेसमेत भनेर चिनिने मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेको थियो । उक्त घटनालाई लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो ।

तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।

त्यो फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गयो । अदालतले ०६९ मा ज्यान मार्ने उद्योग गरेको ठहर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो ।

सरकारी वकिलको कार्यालय मनाङे बाहेकका चार जनालाई पनि सजाय मागगर्दै सर्वोच्च गएको थियो । त्यही मुद्दामा २०७५ सालमा न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरेको थियो ।

तत्कालीन पुनरावेदन अदालत पाटनले ५ वर्ष कैद सजाय सुनाएपछि मनाङे पक्राउ परेका थिए । तर १० वर्ष भन्दा कम जेल सजाय भएको मुद्दामा जेलबाहिर रहेर पुर्पक्ष गर्न पाइने कानुनी व्यवस्था अनुसार उनी रिहा भएका थिए । सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङले मनाङबाट दुई कार्यकाल गण्डकी प्रदेशसभा सदस्य चुनिए । ०७४ सालदेखि लगातार प्रदेश सभा सदस्य रहेका उनी हालसम्म ६ पटक मन्त्री बनिसकेका छन् । सांसद चुनिएपछि माधव नेपाल नेतृत्वका नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका उनी पछिल्लो समय स्वतन्त्र सांसदकै हैसियतमा फर्किन खोजिरहेका थिए।

सातौ पटकमन्त्री नियुक्त भएपनि उनले मन्त्रालय चित्त नबुझेपछि राजीनामा दिएका थिए । सो मुद्दामा मनाङे यसअघि दुई वर्ष जेल बसिसकेका छन् । उनी अब करिब ३ वर्ष मात्र जेलबसे पुग्छ ।

प्रतिक्रिया दिनुहोस्