पोखरा– दक्षिण कोरियाकी चर्चित अभिनेत्री ली सि–यङले हालसालै नेपाल भ्रमण गरेकी छिन् । आफ्ना ६ वर्षीय छोरासँग उनले एक साता लामो बसाईमा नेपाल भ्रमण गरेकी हुन् । उनले नेपालको पोखरा र हिमालमा पदयात्रा गरेको तस्बीर, भिडियोहरु सार्वजनिक गरेकी छिन् ।
जसको चर्चा दक्षिण कोरियाका मिडियाहरुले समेत महत्वका साथ सार्वजनिक गरेका छन् । अभिनेत्रीले सामाजिक सञ्जालमा पोखरामा बसेको र मार्दी हिमाल क्षेत्रको पदयात्रा गरेका भिडियोहरु सार्वजनिक गरेकी छिन् ।
उनले सार्वजनिक गरेको भिडियोमा उनले आफ्नो छोरासँग नेपाल भ्रमणमा निकै रमाएको देखिएको छ । सार्वजनिक भिडियोमा उनले आफ्नो ६ वर्षीय छोरालाई काँधमा बोकेर मार्दी हिमालको पदयाधा गरेकी छिन् ।
उनले सामाजिक सञ्जाल इन्ष्टाग्राममा आफ्नो पदयात्राको अनुभव सार्वजनिक गर्दै लेखेकी छिन्, ‘हामीले योजना अनुसार सूर्योदयको दृश्य भने हेर्न पाएनौं । बिहान ३ बजे नै हामी तयार भएर चाँडै पुग्ने कोसिस भएपनि सकिएन । तर, कसैलाई पछाडि नछोडीकन हामी ४२०० मिटर उचाइको मार्दी हिमालको भ्यु प्वाइन्टमा पुग्यौं । हामी पदयात्रा गरिरहञ्जेल मौसम खराब रह्यो ।’ उनले आफ्ना फ्यानहरुलाई नोभेम्बर १० मा सुरक्षितसाथ पदयात्रा पूरा गरेको जानकारी दिएकी छिन् ।
उनले थप पोष्ट सार्वजनिक गर्दै लेखेकी छिन्, ‘हामीले पोखराको एउटा होटलमा दुई दिन रमाइलो गरी बितायौं । पहाडमा बसेपछि सबै कुरा अनमोल लाग्छ न्यानो पानी, स्वादिष्ट खाना, आरामदायी ओछ्यान । सबैभन्दा धेरै, मेरो छोरा जंग–युन । धेरै खुसी थिए, खेल्दै, आराम गर्दै र प्याराग्लाइडिङ प्रयास गर्दै पनि ।’
प्रतिक्रिया