काठमाडौं– ज्यान मार्ने उद्योग मुद्धामा दोषी ठहर भएका गण्डकी प्रदेश सभाका सांसद तथा पूर्वमन्त्री दीपक मनाङे कारागार चलान भएका छन् । उनलाई मंगलबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको थियो ।
मनाङेलाई फैसला कार्यन्वयनका लागि आजै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो । मनाङेलाई ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले कात्तिक २० गते ५ वर्ष कैदको फैसला गरेको छ। यसअघि उच्च अदालत पाटनले गरेको ५ वर्ष कैदको फैसला नै सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सदर गरेका थिए ।
२०६१ सालमा चक्रे मिलनलाई खुकुरी प्रहार गरेको घटनामा जिल्ला अदालत काठमाडौंले २०६३ माघ ७ गते उनलाई २ वर्ष कैदको फैसला गरेको थियो। तर उक्त फैसलाविरुद्ध तत्कालीन पुर्नरावेदन अदालत पाटनमा सरकारले पुर्नरावेदन निवेदन गरेको थियो।
पाटन अदालतले २०६९ साउन २८ गते जिल्ला अदालतको फैसला केही बदर गर्दै ५ वर्ष कैद सुनाएको थियो। उच्च अदालतको फैसलापछि २०७५ वैसाख ६ गते उनी काठमाडौंबाटै पक्राउ परेका थिए। तर पक्राउ पर्नुअघि फैसला उपर सर्वोच्च नगएका उनले त्यसपछि भने उच्चको फैसला बदरको माग गर्दै निवेदन दिएका थिए।
मनाङे गण्डकी प्रदेश सभाका सांसद हुन् । ०७४ सालदेखि लगातार प्रदेश सभा सदस्य रहेका उनी हालसम्म ६ पटक मन्त्री बनिसकेका छन् । सांसद चुनिएपछि माधव नेपाल नेतृत्वका नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका उनी पछिल्लो समय स्वतन्त्र सांसदकै हैसियतमा फर्किन खोजिरहेका थिए।
सातौ पटकमन्त्री नियुक्त भएपनि उनले मन्त्रालय चित्त नबुझेपछि राजीनामा दिएका थिए । सो मुद्दामा मनाङे यसअघि दुई वर्ष जेल बसिसकेका छ न् । अब उनी करिब ३ वर्षमात्र जेलबसे पुग्छ ।
प्रतिक्रिया