काठमाडौं– अपरिचित टेलिफोन सम्पर्कबाट ठगीमा परेका विभिन्न घटनाहरु समयसमयमा सार्वजनिक भइरहेका हुन्छन् । तर भारतमा एक ५० वर्षका पुरुष भने अपरिचित टेलिफोन सम्पर्कका कारण अपहरणमा परेका छन् ।
भारतको उत्तर प्रदेशमा रहेको ललितपुर भन्ने ठाउँका ५० वर्षीय लल्लु चौबेईलाई सुरुमा एक अपरिचित महिलाको कल आयो । फोनमा कुरा गरेको केही समयमा नै ती महिलाले लल्लुलाई प्रेमको प्रस्ताव राखिन् ।
अपरिचित महिलाको प्रेम प्रस्तावले लल्लु सुरुमा त के गर्ने भन्ने दोधारमा परे । तर महिलाले प्रेम सम्बन्धलाई जोड गरेपछि उनले महिलाको प्रस्ताव स्विकारे । त्यसपछि उनीहरूबीच केही दिन फोनमा राम्रै कुरा भयो । कुराकानी भएको केहीदिन पछि महिलाले नै लल्लुलाई भेट्ने प्रस्ताव राखिन् । महिलाले लल्लुलाई झान्सी भन्ने ठाउँमा भेट्न बोलाइन् ।
महिलाले तोकेको ठाउँमा उनलाई भेट्न लल्लु पुगे । तर त्यो ठाउँमा एक महिलाका साथमा अन्ग दुई जना युवकहरू थिए । उनीहरुले लल्लुको मोबाइल खोसे र उनको अपहरण गरे
अपहरणकारीले लल्लुको छोरालाई फोन गर्दै फिरौती माग्न लागे । उनीहरुले लल्लुको छोरासँग फिरौती रकम तीन लाख भारु मागेको स्थानीय प्रहरीले जानकारी दिएका छन् ।
लल्लुका छोराले बुबाको फिरौतीका लागि तत्काल एक लाख पठाइदिए भने बाँकी फिरौती रकम खोजेर उपलब्ध गराउने बताए । त्यसपछि फिरौतीका लागि रकम खोजी गनेए क्रममा उनलाई प्रहरीकोमा जान केही व्यक्तिले सुझाव दिए । अरुको सुझावलाई मान्दै लल्लुका छोराले पनि प्रहरीलाई बुवा अपहरणमा परेको भन्दै उजुरी दिए ।
त्यसपछि प्रहरीको टोली र लल्लुका छोराले थप फिरौती रकम उपलब्ध गराउने भन्दै अपहरणकारीलाई भेट्न आउन भने । यसरी प्रहरी फिरौती लिन आएका व्यक्तिमार्फत अपहरणकारीसम्म पुगेको थियो ।
अपहरण गरिएको ठाउँबाट लल्लुलाई तत्काल उद्धार गरी तीन जना अपहरणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ३५ वर्षकी किरण, ३० वर्षका अखिलेश अहिवार र २७ वर्षीय सतिशसिंह बन्डेला रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार पुरुषहरुलाई प्रेम सम्बन्धमा फसाएर पैसा असुल्ने अन्य थुप्रै महिलाहरू यस गिरोहमा सक्रिय रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया