बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार


काठमाडौं– पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध रेड नोटिस जारी गर्न बंगलादेशको विशेष अदालतले इन्टरपोलमा पत्राचार गरेको छ ।

पूर्वप्रधानमन्त्री हसिनाले गत जुलाईमा भएको प्रदर्शनमा प्रदर्शनकारीको हत्या गरेको कसुरमा रेड नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार गरेको एसोसिएटेड प्रेसले जनाएको छ। सरकारी वकिल बिएम सुल्तान महमुदले मंगलबार प्रहरी प्रमुखमार्फत इन्टरपोलमा पत्राचार गरेको समाचारमा उल्लेख छ।

गत जुलाईमा सरकारी जागिरमा आरक्षणसम्बन्धी विद्यार्थीहरुले गरेको प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्री हसिनाले पदबाट राजीनामा दिएर भारत पुगेकी थिइन्। त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन्।

हसिनाले पदबाट राजिनामा दिएपछि अगष्ट ८ मा नोबल पुरस्कार बिजेतासमेत रहेका मुहम्मद युनुसलाई बंगलादेशको अन्तरिम सरकार प्रमुख बनाएको थियो।

सोपछि गत महिना बंगलादेशको विशेष अदालतले हसिनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो। उनलाई नोभेम्बर १८ सम्म अदालतमा हाजिर हुन आदेश दिएको थियो।

१५ वर्षसम्म बंगलादेशको सत्ता सम्हालेकी हसिनाविरूद्ध प्रदर्शनको क्रममा मानव उल्लंघन, ठूलो समूहलाई पक्राउ गरेको र राजनीतिक प्रतिस्पर्धीको गैरन्यायिक हत्या समेत गरेको आरोप छ।

अदालतले हसिनाको अवामी लिग पार्टीका पूर्वमहासचिव ओबाइदुल क्वेदरसहित ४४ जनाविरूद्ध पुर्जी जारी गरेको थियो। अन्य ४४ जनाको नाम भने सार्वजनिक भएको छैन।