काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ वर्ष नाघिसकेको छ । २०७५ साउन १० गते साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी निर्मला भोलिपल्ट निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् ।
निर्मला पन्तको हत्याका घटनापछि उनको न्यायको माग गर्दै निकै ठूला प्रदर्शन र आन्दोलनसमेत भएका थिए । पन्तको बलात्कार र हत्याबारे अनुसन्धानका लागि अहिलेसम्म ६ वटा समिति बनेका छन् । निर्मलाको हत्यारा पत्ता लगाउन भनेर करिब ७०० जनाको डिएनए परिक्षण गरिएको छ ।
निर्मला पन्तको हत्यापनि सरकारमा पाँच जना गृहमन्त्री फेरिएका छन् । रामबहादुर थापा ‘बादल’, बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ, पुन रवि लामिछाने हुँदै हाल रमेश लेखक गृहमन्त्री बनेका छन् । हालका गृहमन्त्री लेखक निर्मला हत्या भएपछि भएको सडक आन्दोलनमा समेत सहभागी भएका थिए । तर उनै लेखक गृहमन्त्री हुँदासमेत निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको विषयमा केही पत्ता लाग्न सकेको छैन ।
यसै क्रममा निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणको ६ वर्षभन्दा लामोसमय नाघेपछि उक्त बलात्कार घटनाको आफू प्रत्यक्षदर्शी रहेको दाबी गर्दै एक जना व्यक्ति मिडियामा आएका छन् । गोरखाको नवराज अर्यालले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको आफू प्रत्यक्षदर्शी रहेको दाबी गरेका हुन् ।
उनले प्राइम टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा कार्यक्रम प्रस्तोता ऋषी धमलालाई अन्तर्वार्ता दिँदै निर्मला पन्तको बलात्कार घटनाको आफू साक्षी रहेको दाबी गरेका हुन् ।
निर्मला पन्त हत्या प्रकरणको समयमा पूर्व खानेपानी मन्त्री बिना मगरको ड्राइभरको रुपमा आफू कार्यरत रहेको उनले बताएका छन् । बलात्कारको समयमा माननीय मगरसँगै आफू कञ्चनपूरमा पुगेको उनले बताएका छन् । कञ्चनपुरमा साँझपख उखुबारीमा निर्मलाको बलात्कारको घटना भएको अन्तर्वार्तामा उनले बताएका छन् ।
उक्त घटनाको समयमा आफूले निर्मला पन्तसहित चार जनालाई देखेको र बलात्कारमा संगल्न तीन जना रहेको उनले अन्तर्वातामा बताएका छन् । सुरक्षाको ग्यारेन्टी सरकारले प्रत्याभुत गर्न सकेमा घटनामा संलग्न तीन जनाको नाम भन्न तयार रहेको उनले बताएका छन् । घटनामा संलग्न तीनै जनाको हुलिया, नाम सबै आफूले भन्न सक्ने दाबी उनको रहेको छ ।
उनले अन्तर्वाताको क्रममा भने, ‘मेरा पनि दुई छोरी छन् । ती नानी पनि मेरी छोरी जस्तै हुन्, न्याय पाउनुपर्छ । ’
नेपाली कांग्रेसका नेता उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकको पनि चालक भएर काम गरिसकेको उनले बताए । उनले विभिन्न १६ जनाको नेताको ड्राइभर भएर काम गरेको उनले बताए । उनले भने, ‘म गृहमन्त्री रमेश लेखकलाई भेट्न भनेर पनि गएको थिएँ तर उहाँको आफन्त बितेको भनेर नभेटि फर्किएँ ।’ यातायात कार्यालय, मन्त्रालयमा गएर आफ्ना कुराहरु राखेपनि सुनुवाई नभएको उनको दाबी गरेका छन् ।
निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणको प्रत्यक्षदर्शी भएका कारण विभिन्न झमेला भोगेको आचार्यले बताएका छन् । विभिन्न आरोप लाग्दै आफूले जागिर गुमाएको र ज्यानको असुरक्षा भएको उनले बताएका छन् । आफूमाथी धारापानी भन्ने ठाउँमा दुईपटक, नयाँ पुलमा एकपटक ज्यान मार्नेगरि आक्रमण भएको उनले दाबी गरेका छन् । तर यदि सरकारले ज्यानको सुरक्षाको ग्यारेन्टी गरेमा निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा संलग्नको नाम भन्न तयार रहेको उनले अन्तर्वातामार्फत बताएका छन् ।
प्रतिक्रिया