दुई सातामै ८ हजार ८०० रुपैयाँले घट्यो सुनको भाउ


काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ४ सय रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ रहेको सुन चार सयले घट्दै आज १ लाख ६२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यस्तै लामो समयदेखि उकालो लागि रहेको सुनको मूल्य पछिल्लो दुई सातामा भने घटिरहेको छ । दुई हप्तामा नै सुनको भाउ एक तोलामा ८ हजार ८०० रुपैयाँले घटेको छ । कात्तिक १५ गते नेपाली बजारमा सूनको मूल्यले कीर्तिमानी रेकर्ड राखेको थियो । उक्त दिन सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ थियो । त्यसदिन देखि यता सुनको मूल्यमा गिरावट आउँदै तोलामा ८ हजार ८०० ले घटेको हो ।

सूनको मूल्य घट्दा आज चाँदीको मूल्य भने बढेको छ । मंगलबार प्रतितोला १ हजार ९२५ रुपैयाँ रहेको चाँदी आज १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य १ हजार ९४० रुपैयाँ कायम भएको नेपाल सूनचाँदी व्यवसायी महासंघले जनाएको छ ।