Logo

‘ह्रस्व दीर्घ’ को नयाँ गीतमा आमाको संघर्ष, त्याग र समर्पण

काठमाडौं– चलचित्र ‘ह्रस्व दीर्घ’ को दोस्रो गीत सार्वजनिक भएको छ । शुक्रबार अर्थात् कात्तिक ३० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मले मंगलबार नयाँ गीत सार्वजनिक गरेको हो ।

ओएसआर डिजिटलको युट्युब च्यानलमा फिल्मको ‘भगवान नै आमा हुन्’ बोलको गीत सार्वजनिक भएको छ । आमाको महिमा वर्णन गरिएको गीत निकै मर्मस्पर्शी सुनिएको छ । गीतमा नायिका बिपना थापालाई आमाको भूमिकामा देखाइएको छ ।

गीतमा सत्यराज आचार्यको स्वर रहेको छ । गीतको शब्द रचना र संगीत बाबुल गिरीले भरेका छन् । सार्वजनिक गीतमा आमाले आफ्नो सन्तानको लागि गर्ने संघर्ष, त्याग र समर्पणको भाव प्रस्तुत गरिएकाले यो निकै मनछुने खालको छ ।

फिल्मले यसअघि एउटा गीत, टिजर र ट्रेलर सार्वजनिक गरिसकेको छ । फिल्मको सार्वजनिक भएको पहिलो गीत ‘उठेर नाचिस्यो’ पनि दर्शकहरुले निकै मन पराएका थिए । यस्तै फिल्मको टिजर र ट्रेलरलाई पनि दर्शकको राम्रो साथ मिलेको छ । फिल्मको ट्रेलरलाई ६ दिनमा २२ लाखभन्दा बढी पटक हेरिसकिएको छ । दक्षिण भारतीय कलाकार र नेपालका चर्चित कलाकारहरुको अभिनयका कारण पनि फिल्म ‘ह्रस्व दीर्घ’को चर्चा निकै भइरहेको छ ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना प्रमुख भूमिकामा देखिँदैछन् । फिल्ममा ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा लगायतका दक्षिण भारतीय कलाकारका साथै प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।

 

प्रतिक्रिया दिनुहोस्