निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको प्रत्यक्षदर्शी रहेको दाबी गरेका व्यक्ति प्रहरीको नियन्त्रणमा


काठमाडौं– कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको आफू प्रत्यक्षदर्शी रहेको दाबी गरेका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्राइम टाइम टेलिभिजनको ऋषी धमलाले सञ्चालन गरेको कार्यक्रमम जनता जान्न चाहन्छन् कार्यक्रममा अन्तर्वार्ताका क्रममा गोरखा घर भई काठमाडौं बस्ने नवराज अर्यालले निर्मला पन्तको हत्याको आफू प्रत्यक्षदर्शी भएको बताएका थिए । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार नियन्त्रणमा लिएको हो।

यसअघि सिआइबीले मंगलबार अर्यालसँग चार घन्टा सोधपुछ गरेका थिए। बुधबार पुन सिआइबीमा हाजिर हुन आउन भने पनि उनी सम्पर्कबिहीन भएका थिए । सोपछि सिआईबीले उनलाई पक्राउ गरेको हो ।

यस्तै अर्यालको अन्तर्वार्ता लिएका पत्रकार ऋषि धमला पनि सिआइबी कार्यालय उपस्थित भएका छन्। अन्तर्वार्ताका क्रममा अर्यालले आफू प्रत्यक्षदर्शी भएको र अभियुक्त को हो भन्नेसमेत थाहा भएको दाबी गरेपछि त्यससम्बन्धमा बुझ्नका लागि धमलालाई बोलाइएको सिआइबीले जनाएको छ ।