घरमै बसेर लाखौँ कमाउने लोभमा छोराले डुबाए जग्गा बेचेर बुबाले जम्मा गरेको एक करोड रुपैयाँ


काठमाडौं– करिब एक साता अघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनलाइनमार्फत ठगी भएको भन्दै उजुरी आयो । उक्त उजुरी दिने व्यक्तिका छोरा अनलाइन स्क्याममा ठगिएर जग्गा बेचेर बैंकमा जम्मा गरेको एक करोड रुपैयाँ गुमाएका थिए ।

उक्त घटना १६ वर्षीय एक किशोरले फेसबुकमा घरमै बसिबसि लाखौं कमाउन सकिने विज्ञापन देखेसँगै अघि बढेको थियो । ती किशोरले विज्ञापन देखेपछि के रहेछ भनेर बुझ्न विज्ञापनमा दिइएको लिङ्कमा क्लिक गरे । फेसबुकमा दिइएको लिंकबाट उनी ह्वाट्सएपमा पुगे । ह्वाट्एपमा कुराकानीका क्रममा उनलाई इन्स्टाग्राम पोस्टका लिङ्क पठायो । ती पोष्टमा लाइक गरेमा खातामा पैसा आउने बताइएको थियो ।

च्यानमा भनिएजस्तै ती किशोरले इन्स्टाग्राम पोस्टमा लाइक गरेर र ह्वाट्सएपमा आफूले लाइक गरेको स्क्रिनसट पठाए । त्यसपछि ह्वाट्सएपबाट उनलाई टेलिग्राम च्याट गर्न भनियो ।

टेलिग्राममार्फत ती किशोरको बैंक खाताको विवरण मागियो । र ती व्यक्तिले इन्ट्राग्राममा लाइक गरेबापत बैंकमा २०० रुपैयाँ राखिदिए । ती किशोरले हरेक दिन इन्ट्राग्राममा पोष्ट लाइक गरेबापत दुई सय रुपैँया गर्दैै चार दिनमा आठ सय रुपैयाँ बैंक खातामा पाए ।

त्यसपछि भने अझै आम्दानी गर्न मन भएमा भीआईपी क्लबमा जोडिनुपर्ने बताइयो । लाइक गरेको भरमा पैसा पाइरहेका ती किशोरपनि भीआईपी क्लबमा जोडिएमा थप कमाइने कुरामा विश्वास नगरि रहन सकेनन् । आफ्नो मोबाइलमा भएको बुबाको बैंक खाताको मोबाइल बैंकिङबाट उनले भीआईपी क्लबमा जोडिइन पाँच हजार रुपैयाँ पठाइदिए ।

केही समयअघि मात्र ती किशोरका बुवाले जग्गा बेचेको पैसा सोही मोबाइल बैंकिङ भएको बैंक खातामा जम्मा गरेका थिए । उनको खातामा एक करोड भन्दा बढी रकम राखिएको थियो ।

ती किशोरलाई भने उता अनलाइनमा जति धेरै पैसा राख्यो त्यति धेरै कमिशन पाउने प्रलोभन देखाइएको थियो । उनलाई ३० हजार, ५० हजार, ७० हजार हुँदै लाखौंसम्म पठाउन भनिएको थियो । धेरै कमाउने लोभमा ती किशोरले पनि बुबाको मोबाइल बैंकिङबाट खुरु खुरु पैसा पठाए । यसरी बुबाको एक करोड रुपैयाँभन्दा धेरै पैसा नै ती किशोरले बुझाए ।

यस घटनाका बारेमा बुबाले थाहा पाएपछि उनले सिआईबीको कार्यालयमा गएर उजुरी दिएका छन् । सिआईबीको अनुसन्धानका क्रममा रकम फरक फरक खातामा गएको देखिएको छ । ती बैंक खाता कसले सञ्चालन गरेको हो र कसरी रकम सर्कुलेट भइरहेको छ भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समयमा घरमै बसीबसी पैसा कमाउने जस्ता विज्ञापनहरुबाट प्रलोभन देखाएर ठगीका घटनाहरु भएको र यस्ता ठगीको घटनामा पैसा फिर्ता पाउने सम्भावना न्युन रहेकाले सजक रहनसमेत प्रहरीले अनुरोध गरेको छ ।