१५ दिनभित्र बक्यौता रकम नतिरे फेरि बिजुलीको लाइन काट्ने कुलमानको चेतावनी


काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारको निर्देशनलाई मान्दै लाइन काटिएका उद्योगहरुमा बिजुली जोड्ने प्रक्रिया अगाडि बढेको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले २४ घण्टाभित्र लाइन काटिएका उद्योगहरुमा लाइन जोड्नु भन्ने सरकारको निर्देशन प्राप्त भएकाले सोहीअनुसार अगाडि बढिएको बताए ।

कार्यकारी निर्देशक घिसिङले अब उद्योगीहरुले विद्युत जोडिएको १५ दिनभित्र बक्यौता बुझाउनुको विकल्प नरहेको बताए । सरकारले नै उद्योगीहरुलाई १५ दिनभित्र बिलअनुसारको बक्यौता बुझाउनु भनेर निर्देश गरिसकेको उनको भनाइ छ ।

‘१५ दिनभित्र हामीले गरेको बिलअनुसारको रकम नबुझाए हामी आफ्नो प्रक्रियामा फेरि पनि लाग्नेछौं । अब नेपाल सरकारले पनि भनिसकेको अवस्था छ–१५ दिनभित्र बक्यौता रकम असुल उपर गर्नु । यो नेपाल सरकार, उर्जा तथा जलस्रोत मन्त्रालय सबैको एकमुष्ठ दायित्वभित्र आएको छ । १५ दिनभित्र बक्यौता रकम उठेन भने नेपाल सरकार, उर्जा तथा जलस्रोत मन्त्रालय बक्यौता रकम उठाउनेतिर अगाडि बढ्छ भन्ने मलाई पूर्णरुपमा विश्वास छ,’– उनले भने ।

योभन्दा अगाडि प्राधिकरणले २८ किस्ता सुविधा दिएर एक किस्तामात्रै जम्मा गर्दा पनि लाईन जोड्दै आएको पनि उनले स्मरण गराए ।१४ वटा उद्योगमा सुरुको १ किस्ता बुझाएको आधारमा नै लाइन जोडिएको उनले बताए । हाल बक्यौताको कुनै पनि किस्ता नबुझाउनेमा २८ वटा उद्योग रहेको उनले बताए ।

उनले अब पनि उद्योगी व्यवसायीहरुले सरकारको निर्देशन बेवास्ता गरेर बक्यौता नबुझाएमा यो विषय प्राधिकरणको मात्रै नरहने बताए । उनले अब पनि बक्यौता नउठेमा यस विषय आम नागरिकको विषय बन्नुपर्ने र आम नागरिकले यसमा जिज्ञासा राख्नुपर्ने बताए ।