शंकर घिमिरे र ऋचा घिमिरेमाथी ठगी आरोप, के होला ‘तेल भिसा’ को भविष्य


काठमाडौं– मंसीर ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘तेल भिसा’ को प्रचारप्रसारमा निर्माण पक्ष व्यस्थ छ । तर फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मका निर्माता र निर्देशक भने ठगीको आरोपमा मुछिएका छन् ।

फिल्मका निर्देशक शंकर घिमिरे र उनकी श्रीमती निर्मात्री तथा अभिनेत्री ऋचा घिमिरेमाथी अमेरिका लैजान्छु भनेर ठगी गरेको आरोप लागेको छ ।

अमेरिका लैजान्छु भन्दै डेढ करोड रुपैयाँ बराबर ठगी गरेको दाबीसहित उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको हो। घिमिरे दम्पत्तीले अमेरिका लैजान्छु भनेर पैसा लिएको तर अमेरिका पनि नलगेको र पैसा पनि फिर्ता नगरेको भन्दै उनीहरुलाई कारबाही गर्न माग गरिएको छ ।

नेपाली रजतपटमा घिमिरे दम्पती नै सक्रिय छन् । ऋचा घिमिरे कुनैसमय नेपालको नाम चलेकी अभिजनेत्री समेत हुन् । उनले आफैले निर्माण गरेको यहि फिल्ममार्फत नेपाली रजतपटमा १० वर्षपछि कमब्याक गरेकी छिन् । उनीहरुले निर्माण गरेको यस फिल्ममा कानुनी पक्ष नबुझ्दा नेपालीले विदेशमा पाउने दुःख र झमेलाको विषयलाई मूल कथा बनाउँदै फिल्म ‘तेल भिसा’ बनाएका छन् । सुत्केरी बुहारी स्याहार्न अमेरिका गएकी सासुले अध्यागमनका क्रममा भोगेको कानुनी झमेलालाई फिल्ममा प्रस्तुत गरिएको ‘तेल भिसा’ को सार्वजनिक ट्रेलरमा देखाइएको छ ।

अमेरिका र नेपालमा छायांकन गरिएको यो फिल्मको अमेरिकामा छायाङ्कनका लागि विपिन कार्की, वर्षा राउत लगायतका कलाकारलाई अमेरिकासमेत लगिएको थिए । तर फिल्म रिलिजको मिति नजिकिँदै गर्दा ठगी आरोप खेपेपछि फिल्मको आगामी भविष्य के होला भन्ने अन्यौलता सिर्जना भएको छ ।