धनगढी– कैलालीको धनगढीमा महिलालाई उद्यमी बनाउन शनिबार विशेष बजार लाग्ने भएको छ । महिलालाई स्वरोजगार बनाउन उद्देश्यले धनगढी उपमहानगरपालिकाले
‘शनिबारीया महिला उद्यम बजार’ सञ्चालन गर्न लागेको हो ।
आगामी मंसिर १ गतेबाट प्रत्येक शनिबार धनगढी उपमहानगरपालिका–१ पार्क अगाडी शनिबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म उक्त मेला लाग्ने उपमहानगरले जनाएको छ । मेलाका लागि ३५ वटा स्टल, खानेपानी, विद्युत्, शौचालय, टेबुल, कुर्सी, स्वास्थ्यकर्मीको टोली लगायतको व्यवस्था गरिइने भएको छ ।
धनगढीका महिलाहरूले आफ्नो सीप अनुसार तयार गरेका सामाग्री तथा बस्तु बिक्रीवितरण गर्न मेलाको आयोजना गरिन लागिएको नगरप्रमुख गोपाल हमालले बताएका छन् । उक्त बजारमा महिलाहरूले तयार पारेका अचार, ढकिया, माछा, पकौडी लगायत बस्तु किन्न र खान पाइने जनाइएको छ ।
व्यवसाय सञ्चालन गर्दै आएका महिलालाई भन्दा पनि घरमा बस्दै आएका तर सीप भएका महिलाहरूलाई बजारमा विशेष प्राथमिकता दिएको उपमहानगरले जनाएको छ ।
प्रतिक्रिया