काठमाडौं– बुधबार झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करबाट ३८ वर्षीय नारायण नगरकोटीकोको मृत्यु भयो । कागेश्वरी मनहरा– २ आलापोटका नगरकोटीको उपचारका क्रममा ग्राण्डी अस्पतालमा निधन भएको हो ।
मृतक नगरकोटीकी श्रीमती ३२ वर्षीया सानुमाया नगरकोटी भने गम्भीर घाइते भएकी छिन् । उनको ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
यता नगरकोटीको शवभने अस्पतालबाट अझै उठाइएको छैन । चालक भुजेलले मृतक र घाइतेलाई ‘यथोचित’ क्षतिपूर्ति दिनुपर्ने माग गर्दै मृतक परिवारले शव उठाउन नमानेका हुन् । उनीहरुले भुजेलसँग एक करोड रुपैयाँ क्षतिपूर्ती माग गरेका छन् ।
नगरकोटी पत्नी सानुमाया भेन्टिलेटरबाट दिइएको कृत्रिम श्वासप्रश्वासका कारणमात्र जीवित रहेको भन्दै उनलाई पनि मृतकसरह क्षतिपूर्ति दिनुपर्ने माग पीडित पक्षले गरेको छ । प्रतिव्यक्ति ५० लाख रुपैयाँ क्षतिपूर्ती दिनुपर्ने उनीहरुले माग गरेका छन् ।
तर भुजेलले प्रतिव्यक्ति १५ देखि २० लाख रूपैयाँसम्म क्षतिपूर्ति दिन चाहेपछि मृतकको परिवारले त्यसको अस्वीकार गर्दै शव उठाउन नमानेका हुन् । नारायण नगरकोटी पूर्वमाओवादी लडाकु हुन् । नगरकोटी दम्पत्तिका १४ र ६ वर्षिया दुई छोरी छन् ।
यस्तै भुजेललाई सवारी ज्यानमा पनि कुन दफाअन्तर्गत मुद्दा चलाउने भन्ने कुरा हालसम्म तय नभएको प्रहरीले जनाएको छ । घटनास्थलको सीसीटीभी फुटेज संकलन भइरहेको र घटनाको प्रकृतिका अधारमा कानूनी दफा आकर्षत हुने जनाइएको छ ।
सवारी साधन चलाउँदा चालकको नियन्त्रणभन्दा बाहिर गएको मात्रै भए ऐनको दफा १६१ को उपदफा ३ आकर्षित हुन्छ । त्यसअन्तर्गत पीडितलाई क्षतिपूर्ति र बढीमा एक वर्षको सजाय तोकिएको छ ।
यदि लापरवाह तरिकाले सवारी साधन चलाएको पाइएमा उपदफा २ आकर्षित हुन्छ, जसअन्तर्गत बढीमा १० वर्षसम्मको कैद सजाय तोकिएको छ । यदि नियतवस दुर्घटना गराइएको भन्ने कुरा कुनै प्रमाणले खुलेमा दफा १६१ को उपदफा १ आकर्षित हुने व्यवस्था छ । त्यसअन्तर्गत बढीमा २० वर्षसम्म कैद सजाय तोकिएको छ ।
प्रतिक्रिया