काठमाडौं– नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले नेपाल दूरसञ्चार प्राधिकरणलाई बक्यौता रकम बुझाएको छ । प्राधिकरणलाई रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) शुल्क बापत बुझाउनुपर्ने दुई अर्ब १५ करोड १४ लाख सात हजार ५५२ रुपैयाँ कम्पनीले भुक्तानी गरेको हो ।
प्राधिकरणका अनुसार वर्ल्डलिङ्कले शुक्रबार रोयल्टी बापत एक अर्ब ३८ करोड ९० लाख १२ हजार २२५ रुपैयाँ बुझाएको छ । आरटीडीएफ अन्तर्गत ७६ करोड २३ लाख ९५ हजार ३२७ रुपैयाँ भुक्तानी गरेको प्राधिकरणले जनाएको छ ।
दूरसञ्चार ऐन २०५३ को दफा ३२ र नियमावलीको नियम २६ अनुसार दूरसञ्चार सेवाबाट भएको कुल आम्दानीको चार प्रतिशत रोयल्टी नेपाल सरकारलाई तिर्नुपर्ने व्यवस्था छ । तर वर्ल्डलिङ्कले कानुन विपरीत मर्मतसम्भारको रकममा कर लगाइएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।
रकम भुक्तानी विवाद लामो समयसम्म विचाराधीन रहँदा नेपालमा इन्टरनेट सेवा नै बन्द हुने स्थितिसमेत सिर्जना भएको थियो । तर सर्वोच्चले वर्ल्डलिङ्कको विपक्षमा फैसला गरेपछि रोयल्टी र आरटीडीएफ दस्तुर वल्र्डलिंकले तिर्नैपर्ने कानुनी बाध्यता बनेको थियो । वर्ल्डलिङ्कले बक्यौता रकम बुझाएपछि लाइसेन्स नवीकरण र ब्याण्डविथको भुक्तानीका लागि आवश्यक सहजीकरणको प्रक्रिया अघि बढ्ने प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया