काठमाडौं– सत्तारुढ दल नेकपा एमालेले आगामी मंसिर ७ गते काठमाडौंमा जागरण सभा गर्दैछ । सरकारले गरेका काम कारबाहीबारे जनतामा जानकारी गराउन र नागरिकमा आशा जगाउनका लागि मंसिर ७ गते काठमाडौंमा एमालेले १ लाख भन्दा धेरै कार्यकर्ता उर्तान लागेको हो ।
एमालेले जागरण सभाका लागि बागमती प्रदेश इन्चार्ज डा राजन भट्टराईको नेतृत्वमा समितिसमेत बनाएको छ । डा भट्टराईले एमालेले जागरण सभा किन गर्दैछ भनेर विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
‘नेतृत्वका विरुद्धमा अनेकखाले अनर्गल, भ्रमपूर्ण, प्रायोजित समाचारहरू सम्पेषण गरी पार्टी, यसको नेतृत्व र नीतिमाथि चौतर्फी हमला गर्ने प्रयास भइरहेको छ । विधिको शासनविपरीत विभिन्न स्वार्थी समूह र व्यक्तिका नाममा अस्थिरता र अराजकता सिर्जना गरी हाम्रो स्थापित लोकतान्त्रिक विधि, पद्धति, सुशासनका पक्षमा भएका न्यायिक छानविन, अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियालाई आआफ्ना पक्षमा पार्ने धुमिल कोसिस भइरहेका छन् । र, कालान्तरमा व्यवस्थाका विरूद्ध नै धावा बोल्ने दुश्प्रयत्न भइरहेको वर्तमान सन्दर्भमा जनताका बीचमा पार्टीको दृष्टिकोण र मान्यता स्पष्ट गर्न जरूरी भएकोले आगामी मंसिर ७ गते नेकपा एमाले काठमाडौं, पेसागत ललितपुर र भक्तपुर जिल्ला कमिटीहरू मुख्य आयोजक, विभिन्न जनसंगठन, संगठन, सम्पर्क समन्वय कमिटी र विभागहरूको सहभागितामा जनजागरण सभाको आयोजना गर्न लागिएको हो’ डा भट्टराईले विज्ञप्तिमा भनेका छन् ।
एमालेका अनुसार जागरण सभा गर्नुको पहिलो उदेश्य राजनीतिक अस्थिरता र अराजकताका विरुद्ध, विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्नु हो । त्यस्तै गौरवशाली इतिहास, सही र सक्षम नेतृत्व, क्रान्तिकारी विचार, अग्रगामी सोच र स्पष्ट गन्तव्यलाई प्रष्ट पार्न एमालेले जागरण सभा गर्न लागेको इनचार्ज भट्टराईले बताएका छन् ।
वर्तमान संयुक्त सरकारले गरेका काम उपलब्धि र आगामी योजनाका बारेमा जनतालाई स्पष्ट गर्न र सुशासन, विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व कायम गर्न, संवैधानिक, कानुनी र संरचनागत सुधारको प्रक्रिया अघि बढाउन तथा आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीका पक्षमा जनमत निर्माण गर्न पनि एमालेले जागरण सभा गर्न लागेको डा भट्टराईले जानकारी दिए । ा
प्रतिक्रिया