वायु प्रदुषणका कारण दिल्लीका प्राथमिक विद्यालय अनिश्चितकालसम्मका लागि बन्द


काठमाडौं– चरम रुपमा वायु प्रदूषण बढ्दै गएपछि भारतको राजधानी दिल्लीमा प्राथमिक विद्यालयहरु अनिश्चितकालसम्मका लागि बन्द गरिएको छ ।

दिल्लीका मुख्यमन्त्री आतिशि सिंहले एक्समा पोष्ट गर्दै बाक्लो तुवाँलेले सहर ढाकेका कारण अर्को सूचना जारी नभएसम्मका लागि प्राथमिक विद्यालय बन्द रहने जानकारी गराएका हुन् । यस समयमा अनलाइनमार्फत कक्षाहरु सञ्चालन गरिने उनले जानकारी दिएका छन् ।

शुक्रबार दिल्लीको थुप्रै क्षेत्रमा वायुको गुणस्तर गम्भीर क्याटगोरीमा रहेको भारतीय समाचारमाध्यमले जनाएका छन् । दिल्लीको खराब वायुस्थितिलाई ध्यानमा राख्दै अधिकारीहरुले दिल्ली र राष्ट्रिय राजधानी क्षेत्र ‘दिल्ली एनसीआर’मा ‘ग्रेडेड रिस्पोन्स एक्सन प्लान’ अन्तर्गतको तेस्रो तहको प्रतिबन्धहरु घोषणा गरेका छन् ।

प्रदुषण बढेपछि दिल्लीमा निर्माण कार्यमा प्रतिबन्ध लगाइएको छ । यस्तै निश्चित तहको प्रदूषण गर्ने पेट्रोल र डिजेलबाट चल्ने सवारी साधन तथा अन्य राज्यबाट आउने बसहरुलाई दिल्ली प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।

दिल्ली र यस नजिकका सहरमा पछिल्ला केही दिनदेखि वायु प्रदुषणको तह निकै बढेकोछ । बिहीबार दिल्लीको वायुमा रहेका हानिकारक सूक्ष्म कणहरुको मात्रा विश्व स्वास्थ्य संगठनले सुरक्षित भनेर तय गरेको मापदण्डमा ५० गुणाबढी पाइएको थियो । बिहीबार दिल्लीको वायुमा हानिकारक धुलोको सूक्ष्म कण ‘पीएम टू प्वाइन्ट फाइभ’को मात्रा प्रति क्युबिक मिटर २५४ रहेको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रति क्युबिक मिटर १५ कणभन्दा बढी मात्रा स्वास्थ्यका लागि उपयुक्त हुँदैन ।

कम तापक्रम, धुलो, हावाको मन्द गति, सवारी साधनबाट निस्किने धुँवा र अन्नबाली काटीसकेपछि किसानले पराल डढाउने लगायतका कारण दिल्ली र उत्तरी राज्यहरुमा बर्सेनि जाडोयाममा बाक्लो तुवाँलो लाग्ने गर्दछ ।