दुई वर्षअघि जेल परेको बदला लिन लाजिम्पाटमा जग्गा व्यवसायीमाथी सामुहिक आक्रमण भएको खुलासा
काठमाडौं– केही समयअघि सामाजिक सञ्जालमा एउटा सिसिटिभी फुटेज भाइल भयो , जहाँ एक अस्पतालको पार्किङमा जग्गा व्यसायीमाथी ४ जनाले आक्रमण गरेका थिए । कार्तिक ११ गते काठमाडौंको लाजिम्पाटस्थित पानीपोखरीमा घरजग्गा व्यवसायी ३५ वर्षीय विक्रम लामामाथि इनोभा अस्पतालको पार्किङमा आक्रमण भएको थियो ।
नुवाकोटको ककनी गाउँपालिका–६ घर भएर टोखा नगरपालिका–३ स्थित ग्राण्डी बस्ने लामामाथि हत्या नै गर्ने उद्येश्यले आक्रमण गरेको भिडियोमा देखिएका छ । आक्रमणबाट घाइते भएका लामाको अहिले ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ ।
यता प्रहरीले आक्रमणमा संलग्न चारजना मध्ये दुई जनालाई पक्राउ गरेको छ । बाँकी दुई जनाको भने पहिचान खुलिसकेको र हाल फरार भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्नमध्ये प्रहरीले गोरखाको फुजेल घर भएका निश्चल सुनारलाई झापाबाट पक्राउ गरेको छ । यस्तै आक्रमणमा संलग्न रहेको आरोपमा हाल शैलेन्द्र तामाङ उर्फ मार्सल पनि पक्राउ परेका छन् ।
पक्राउ परेका मध्ये अभद्र व्यवहारमा मुद्दामा मार्सल थुनामा छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई अभद्र व्यवहारमा मुद्दा चलाएकोमा अदालतको आदेशले उनी थुनामा गएका हुन् । उनी कारागारमुक्त भएपछि पुनः ज्यानमार्ने उद्योग मुद्दामा अनुसन्धान गरिने जनाइएको छ ।
आक्रमणमा संलग्नमध्ये अजय लामा र दीपक बरामु फरार छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट नुवाकोट घर भएका अजय लामाले नेतृत्व गरेर विक्रमलाई आक्रमण गरेको खुलेको छ । अजय यसअघि लिखत किर्ते कसुरमा जेल परेर छुटेका थिए । विक्रम लामाले गर्दा आफू जेलमा परेको भनेर अजयले बदला लिन चाहेका थिए । सोहि अनुसार अजयले विक्रमलाई आक्रमण गर्ने भनेपछि आफूहरुले आक्रमण गरेको पक्राउ परेकाहरुले बताएका छन् ।
यद्यपी घटनाका मूख्य दोषी मानिएका अजयलाई पक्राउ गरेर अनुसन्धान नगरिकन बिक्रममाथी किन आक्रमण भयो भन्ने कुरा यकिन गर्न नसकिने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन् ।