काठमाडौं– इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहूको घरमा दोस्रोपटक आक्रमण भएको छ । नेतान्याहूको घरलाई लक्षित गर्दै शनिबार आगोको गोला प्रहार भएको टाइम्स अफ इजरायलले जनाएको छ ।
प्रहार गरिएको उक्त गोला नेतान्याहूको घरको आँगनमा खसेको प्रहरीले पुष्टि गरेको छ । प्रधानमन्त्री नेतान्याहूको घरमा कसले आक्रमण गरेको हो भन्ने हालसम्म खुलिसकेको छैन । उक्त आक्रमणको समयमा घरमा नेतान्याहू र उनको परिवार नरहेको बुझिएको छ । घटनाबाट कुनै नोक्सानी नपुगेको इजरायली सुरक्षा एजेन्सी शिन बेटले जनाइको छ ।
यसअघि १९ अक्टोबरमा पनि नेतान्याहूको घरमा आक्रमण भएको थियो । इजरायलसँग युद्धमा रहेको हिजबुल्लाहले ड्रोन नेतान्याहूको घर नजिकै खसालेको थियो । उक्त हमलामा पनि केही नोक्सानी भएन । तर त्यस हमलाको समयमा भने नेतान्याहू र उनकी पत्नी सारा घरमै थिए । उक्त आक्रमणलाई असफल बनाउन इजरायलले चार लडाकु विमान र एक मिसाइल नै छाड्नुपरेको थियो ।
प्रधानमन्त्रीको घरमा दुई पटकसम्म आक्रमण भएपछि इजरायलका सबै राजनीतिक दलहरूले घटनाको निन्दा गरेका छन् । प्रतिविपक्षी नेताहरू यायर ल्यापिड र बेनी गेंट्जले घटनाका दोषीमाथि कारबाहीको माग गरेका छन् ।
आक्रमणकारीले हद पार गरेको भन्दै सुरक्षा निकायहरूलाई तत्काल अनुसन्धान अगाडि बढाउन इजरायली रक्षा मन्त्री काट्जले सामाजिक सञ्जालमा निर्देशन दिएका छन् ।
प्रतिक्रिया