चार महिनामा विकासका लागि बजेटको १० प्रतिशतपनि भएन खर्च


काठमाडौं– चालू आर्थिक वर्ष २०८१/८२ सुरु भएको चार महिना पूरा भइसकेको छ । साउनबाट सुरु भएको आर्थिक वर्षको कात्तिक मसान्तसम्म आइपुग्दा चार महिनामा विकास खर्च १० प्रतिशत पनि नभएको पाइएको छ ।

नेपाल सरकारले चालू आर्थिक वर्षका लागि कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । कुल बजेटको कात्तिक मसान्तसम्ममा २२ दशमलव ३१ प्रतिशत अर्थात् चार खर्ब १५ अर्ब दुई करोड रुपैयाँ खर्च भएको छ ।

त्यो मध्ये चालूगत शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख बजेट विनियोजन भएकोमा कात्तिक मसान्तसम्ममा दुई खर्ब ९२ अर्ब ५२ करोड ६७ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

यस्तै पुँजीगत शीर्षकका तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बराबर विनियोजन भएकोमा नौ दशमलव आठ प्रतिशत अर्थात् ३४ अर्ब ५३ करोड १० लाख रुपैयाँ बराबर खर्च भएको छ ।

वित्तीय व्यवस्था शीर्षकमा चालू आर्थिक वर्षका लागि तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बराबर विनियोजन भएकाको थियो । चार महिनामा ८९ अर्ब ९६ करोड २४ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

यस्तै चार महिनामा सरकारको राजस्व सङ्कलनको लक्ष्यअनुसार २२ दशमलव ३६ प्रतिशत बराबर रकम संकलन भएको छ ।

चालू आर्थिक वर्षका लागि सरकारले कुल १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा अहिलेसम्म तीन खर्ब २३ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।