एजेन्सी– यतिबेला सारा संसारको ध्यान न्युजिल्यान्डको संसदमा भएको एउटा घटनाले खिचेको छ । त्यहाँकी २२ वर्षीया सांसद हाना रावहिती माइपी क्लार्कले संसदमा गीत गाउँदै नाचेको भिडियो संसारभरि नै भाइरल भइरहेको हो ।
उनले संसद्मा प्रस्तुत गरिएको विधेयकले आफ्नो माओरी समुदायको अधिकारलाई कटौती गरेको भन्दै नृत्यमार्फत त्यसको विरोध गरेकी हुन् । उनले आफ्नो परम्परागत सांस्कृतिक नृत्य ‘हाका’ प्रस्तुत गर्दै संसद्मा प्रस्तुत विधेयकको विरोध जनाएकी हुन् । उनको यो विरोध जनाउने शैलीलाई धेरैले चासो देखाएका हुन् ।
हानाले बिहीबार संसद्मा प्रस्तुत गरिएको विधेयक च्यातेकी थिइन् । त्यसपछि उनले ‘टुतिरा माई नागा इवाई’ गीत गाइन्, जसको अर्थ ‘आऊ, सबै जना सँगै आऊँ, एक जुट होऊ’ भन्ने लाग्छ । यो गीत माओरी समुदायको सांस्कृतिक पर्वहरूमा गाइन्छ । उनले गीत गाउँदै नृत्य सुरु गरेपछि संसद्का अन्य माओरी सांसद र ग्यालरीमा रहेका समर्थकहरूले पनि नृत्यमा साथ दिए ।
सन् १८४० मा ब्रिटिस क्राउन र आदिवासी माओरीबिच माओरीलाई अधिकार दिने किसिमको सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । तर अहिलेको सरकराले त्यो सम्झौतामा भएका बुँदहरू पुनः व्याख्या गर्ने र आदिवासी माओरी समुदायको अधिकार कटौती गर्ने गरी विधेयक ल्याएपछि विवाद उत्पन्न भएको हो । यस्तो विधेयकले देशमा जातीय विभाजनमा खालड सिर्जना गर्ने त्यहाँका राजनीतिक विश्लेषकले चेतावनी दिएका छन् ।
आफ्नो अधिकार कटौती गर्न खोजिएको भन्दै माओरी सांसदहरूले यसको विरोध जनाउँदै आएका छन् । बिहीबार २२ वर्षीया युवा सांसदले विरोधका लागि रोजेको तरिकाले माओरी समुदायको सहनशीलता र गौरव झल्काएको भन्दै धेरैले प्रशंसा गरेका छन् । उनको विरोध साहसीक काम भएको भन्दै धेरैले प्रसंशा गरेका छन् ।
प्रतिक्रिया