रास्वपाद्वारा दोस्रो चरणको आन्दोलन घोषणा, रविलाई हिरासतबाहिर राखेर अनुसन्धानको माग गर्ने
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । राजनीतिक प्रतिशोध बन्द गर्नुपर्ने सहितका मागपत्र सार्वजनिक गर्दै रास्वपाले दोस्रो चरणको आन्दोलन गर्ने भएको हो । उक्त आन्दोलन रास्वपाले मंसीर ८ गतेबाट गर्ने भएको छ ।
आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै रास्वपाका नेताहरुले सभापति रवि लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्नसमेत माग गरेका छन् । सहकारी पीडित र मिटरब्याज पीडितलाई न्याय दिनुपर्ने रास्वपाले सार्वजनिक गरेको मागपत्रको दोस्रो बुँदामा उल्लेख छ । यसैगरी, रास्वपाले उच्च ओहदामा रहेका सबैको सम्पत्ति छानबिन गरी सार्वजनिक गर्नुपर्ने माग गरेको छ ।
सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेदेखि नै रास्वपा आन्दोलित रहेको छ । सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पार्टी सभापति रवि लामिछानेमाथि अनुसन्धान जारी छ। रास्वपाले पोखरा, भैरहवा र काठमाडौंमा विभिन्न समयमा आन्दोलन गर्दै राजनीतिक प्रतिशोध साँधेर सभापतिको पक्राउ गरेको भन्दै सरकारको विरोध जनाइरहेको छ । यस्तै सहकारी पीडितले न्याय पाउनुपर्ने समेत उनीहरुले माग राख्दै आएका छन् । आफ्नो आन्दोलनलाई थप प्रतिफलमूखी बनाउन रास्वपाले दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो ।