कुमार रम्तेललाई सहकारी ठगी प्रकरणमा थप अनुसन्धानका लागि काठमाडौं झिकाइयो, रवि र छविलाई पनि ल्याइने


काठमाडौं– सहकारी ठगी प्रकरणमा कास्की प्रहरी हिरासतमा लामो समयदेखि हिरासतमा रहेका कुमार रम्तेललाई काठमाडौं ल्याइएको छ । जिल्ला प्रहरी प्रहरी भद्रकाली काठमाडौंले गत शनिबार बयानका लागि उनलाई पोखराबाट काठमाडौं ल्याएको हो ।

उनीविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि अनुसन्धानका लागि काठमाडौं ल्याइएको हो । उनको बयान सकिएपछि आज÷भोलि नै पोखरा फिर्ता गराउने तयारी गरिएको छ ।

पोखराको सूर्यदर्शन सहकारी संस्थाका कोषाध्यक्षसमेत रहेका रम्तेल सहकारी ठगी प्रकरणमा २५ भदौमा पक्राउ परेका थिए । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी पुर्पक्षका लागि कारागार चलान समेत भएका थिए ।

यस्तै रम्तेलपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई पनि काठमाडौं ल्याउने तयारी प्रहरीले गरेको छ । रम्तेलको बयान सकिएपछि रवि र छविलाई काठमाडौं झिकाएर बयान गराइने परिसर स्रोतले जानकारी दियो ।

आइतबार काठमाडौं जिल्ला अदालतबाट रवि र छवीविरुद्ध पक्राउ पूर्जी जारीसमेत भएसकेको छ ।

यसअघि यो सहकारी ठगी प्रकरणमा २४ जनाविरुद्ध पक्राउ पूर्जी समेत जारी भएको थियो । यो सहकारीका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई हुन् । यो सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।