बिहान १० बज्नै लाग्दा सार्वजनिक बिदाः हाजिर गरेपछि काम गर्ने की नगर्नेमा कर्मचारीको अलमल
काठमाडौं– पूर्वसभामूख दमननाथ ढुंगानाको निधनपछि सरकारले आज शोक बिदा दिएको छ । आइतबार दिउँसो पूर्वसभामुख ढुंगानाको निधन भएको थियो ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानाको निधनमा आज शोक बिदा दिने निर्णय गरेको थियो । तर मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिएको सूचना बाहिर आयो त्यति बेलासम्म अधिकांश कर्मचारीहरु कार्यालयमा पुगिसकेका थिए । केही भने कार्यालयमा जान बाटोमा थिए ।
सरकारले बिदाको घोषणा गर्दा स्कुल÷कलेजका बिहानी सत्रका कक्षासमेत सक्किसकेका थिए । दिउँसो पढ्ने सरकारी विद्यालयमा पनि विद्यार्थीहरू पुगिसकेका थिए ।
तर एक्कासी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेपपछि विद्यार्थीहरुमा अलमलको अवस्था सिर्जना भएको थिए । सरकारी कार्यालयमा बिहान देखिनै लाइनमा बसेका सेवाग्राहीलाई समेत एक्कासी भएको विदाले समस्यामा पारेको छ । नागरिकता र राहदानी बनाउन जिल्ला प्रशासन कर्यालय जानेहरू पनि बिदाको सूचना पाएपछि फर्किएका छन् ।
पूर्वसभामुखको निधन आइतबार नै भएकाले हिँजै सार्वजनिक बिदाको निर्णय नलिँदा आज सास्ती भोग्नुपरेको भन्दै धेरैले गुनासो गरेका छन् । कार्यालयमा पुगेर हाजिर गरिसकेपछि सार्वजनिक बिदा भएको थाहा भएपछि कर्मचारीहरु काम नगरी फर्किएका छन् ।