पाकिस्तानविरुद्धको टी–२० सिरिजमा अष्ट्रेलियाको ‘क्लिन स्विप’


काठमाडौं– पाकिस्तानविरुद्ध तीन खेलको टी–२० सिरिजमा घरेलु टोली अष्ट्रेलियाले ‘क्लिन स्विप’ गरेको छ ।

बेलेरिभ ओभल मैदानमा सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा अष्ट्रेलिया सात विजकेटले विजयी भयो । यससँगै अष्ट्रेलियाले सिरिज ३–० ले आफ्नो पक्षमा पारेको छ ।

जितका लागि पाकिस्तानले दिएको एक सय १८ रनको लक्ष्य अष्ट्रेलियाले १२.२ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले अविजित ६१ रन बनाए । कप्तान जोश इङ्लिसले २७ र ज्याक फ्रेसर म्याकग्रुकले १८ रन जोडे। बलिङमा पाकिस्तानमा शहिन शाह अफ्रिदी, जहानद खान र अब्बास अफ्रिदीले एक÷एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १८.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो । पाकिस्तानका लागि बबार आजमले ४१, हसिबुल्लाह खानले २४, शहिन शाह अफ्रिदीले १६ र इर्फान खानले १० रन बनाए ।

बलिङमा अस्ट्रेलियाका लागि आरोन हार्डीले तीन विकेट लिए । एडम जाम्पा र स्पेन्सर जोनसनले दुई दुई तथा ब्राटलेट र नाथन एलिसले एक एक विकेट लिए । यसअघि अष्ट्रेलिया पहिलो खेलमा २९ र दोस्रो खेलमा १३ रनले विजयी भएको थियो ।