दुर्गा प्रसाईंविरुद्ध तीनवटा कसुरमा मुद्दा चलाउने तयारी
काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नियन्त्रणमा रहेका विवादिन मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधसहित तीन वटा कसुरमा मुद्दा चलाउने तयारी भइरहेको बताइएको छ । सीआईबीका अनुसार प्रसाईँविरुद्ध साइबर अपराध, कागजात कीर्ते र मानहानीको कसुरमा अनुसन्धान गरिने र सोही बमोजिम मुद्दा चलाइने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३२ अर्ब नेपाली रुपैँया लगानी गरेको दाबी गर्दै प्रसाईँले हिजो (सोमबार) एक भिडियो सार्वजनिक गरेका थिए ।सोही भिडिओलाई लिएर आज उनको निवासमा पुगेर सीआईबीको टोलीले प्रसाईँलाई पक्राउ गरेको थियो ।
प्रसाईँलाई आज नै काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि पेश गरिने बताइएको छ । प्रसाईँसँगै फेक भिडिओ बनाउनमा संलग्न रहेका सबैलाई कानुनी कारबाहीको दायरामा ल्याइने सीआईबीले बताएको छ ।