विदेशी पर्यटकले नेपालमा गर्ने खर्चभन्दा नेपालीले विदेश घुम्न गर्ने खर्च बढी


काठमाडौं– नेपालमा विदेशी पर्यटकले गर्ने खर्चभन्दा नेपालीले विदेश घुमफिरमा धेरै खर्च गर्ने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१÷८२ को आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार साउन देखि असोजसम्ममा भ्रमण व्यय ५५ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।

जसमध्ये पढ्नका लागि विद्यार्थीहरुले ३२ अर्ब १८ करोड रुपैयाँ विदेश लगेका छन् । बाँकी रकम नेपालीले घुमफिर प्रयोजनमा विदेश लगेका हुन् । २३ अर्ब ६० करोड रुपैयाँ घुमफिरका लागि नेपालीले खर्च गरेका छन् ।

त्यही समयमा नेपालले विदेशीहरुले गरेको भ्रमणबाट १७ अर्ब ७२ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन नेपालीले विदेशमा गरेको खर्चभन्दा कम हो ।

यस्तै तीन महिनामा रेमिटेन्स भित्रिने दर ११ दशमलव पाँच प्रतिशतले बढेको छ । गत असोज मसान्तसम्ममा नेपालमा चार खर्ब सात अर्ब ३१ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको हो । अघिल्लो वर्षको तीन महिनामा चार खर्ब चार अर्ब सात करोड रेमिट्यान्स भित्रिएको थियो ।

असोज मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख १० हजार छ सय ५४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५९ हजार नौ सय ३९ रहेको छ ।