Logo

दोस्रो चरणको आन्दोलनबाट पछि हट्यो रास्वपा, अब रचनात्मक आन्दोलन गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गर्ने भनेको दोस्रो चरणको आन्दोलनबाट रास्वपा पछि हटेको छ । मंसीर ८ र ९ गते सडकमा उत्रिएर गर्ने भनिएको दोस्रो चरणको आन्दोलनबाट रास्वपा पछि हटेको हो ।

यसअघि आइतबार रास्वपा केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेलगायतले लामिछानेलाई हिरासतबाहिरै राखेर अनुसन्धान हुनुपर्ने माग राख्दै मंसिर ८ गतेदेखि सडक प्रदर्शन गर्ने घोषणा गरेका थिए ।

दोस्रो चरणको आन्दोलनका लागि तय थप एजेण्डामा सहकारी, लघुवित्त र मिटरब्याज समस्या समाधान, भ्रष्टाचार काण्डको न्यायिक छानविन, गतिशील अर्थतन्त्र, प्रवासी र गैरआवासीय नेपालीलाई मताधिकार, संविधान परिमार्जन लगायत राखिएको थियो ।

पत्रकारसम्मेलनपछि उनीहरुले मंगलबारका लागि केन्द्रीय समितिको बैठक डाकेका थिए । मंगलबार र बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकमा सडक प्रदर्शन गर्न नहुने बरु रचनात्मक आन्दोलनमा लाग्नुपर्ने माग उठेपछि रास्वपा सडक प्रदर्शन गर्ने निर्णयबाट पछि हटेको हो ।

बैठकमा सडकमा विरोध प्रदर्शन गर्नुभन्दा पनि स्थानीय तह उपनिर्वाचन, संगठन निर्माण, जिल्ला अधिवेशनलगायत काममा लाग्नुपर्ने र राज्यबाट लामिछानेमाथि प्रतिशोध कसरी साँधिएको हो भन्ने जनतालाई बुझाउन घरदैलोलगायत रचनात्मक विरोधको विकल्पमा जानुपर्ने धारणा केन्द्रीय सदस्यहरूले राखेका थिए । सडकमा विरोध प्रदर्शन गर्दा सर्वसाधारणको दैनिकीमा असर गर्न नहुने र त्यसो गर्दा पार्टीप्रतिको नकारात्मक सन्देश जाने धारणा उनीहरुले राखेको थिए ।

अधिकांश सदस्यको धारणा रचनात्कम आन्दोलनमा जाने भएपछि अब सडक प्रदर्शन नगर्ने निर्णयमा पुगेको छ । त्यसको सट्टा उपनिर्वाचनमा जनताको घर घरमा पुगेर जनतालाई भेटेर आफ्नो एजेन्डा बुझाउने, सामाजिक सञ्जालबाट सरकारको विरोध जनाउने जस्ता काम गर्दै रचनात्मक आन्दोलन गर्न लागेको रास्वपाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्