Logo

ग्रेटर नेपाल अभियानका अभियन्ता फणिन्द्र नेपाल पक्राउ

काठमाडौं– सुगौली सन्धिअघिको नेपालको भूभाग फिर्ता ल्याउने उद्देश्यका साथ ग्रेटर नेपाल अभियान चलाइरहेका फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनलाई काठमाडौंको शान्तिनगरबाट नियन्त्रणमा लिएर प्रहरीले काठमाडौं प्रहरी परिसर, भद्रकालीमा राखेको छ । शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकता देखिएपछि नेपाललाई तत्काललाई होल्ड गर्ने उदेश्यले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बुधबार भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी पाँच दिनका लागि नेपाल भ्रमणमा आएका थिए । द्विवेदीलाई ग्रेटर नेपालको अभियान चलाइरहेका नेपालले कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गर्न सक्ने सम्भावना रहेको भन्दै प्रहरीले उनलाई निगरानीमा राखेको थियो ।

नेपालले भारतबाट हुने हरेकजसो औपचारिक भ्रमणमा विरोध जनाउने गरेका छन् । त्यसक्रममा उनलाई प्रहरीले पटकपटक पक्राउसमेत गरेको छ ।

केही वर्ष पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनुभन्दा अघि पनि नेपाललाई प्रहरीले पक्राउ गरेको थियो । निवासबाहिरबाटै उनी पक्राउ परेका थिए ।

सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार बर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर नेपालले ‘ग्रेटर नेपाल अभियान’ सञ्चालान गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्