दर्शक छन्, तर शोजमा हेपियो ‘ह्रस्व दीर्घ’



शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ले दर्शकको राम्रो साथ पाइरहेको छ । रिलिजको सातौं दिनमा पनि फिल्म हेर्ने दर्शकको चाप सुखद छ । फिल्मले एक सातामा ५ करोड भन्दा माथिको ग्रस कलेक्शन गर्ने देखिएको छ । तर, लगानी सुरक्षित गर्न मात्र पनि यो फिल्मले अझै ठूलो रकम कमाउनुपर्ने हुन्छ ।

यो फिल्मले दर्शकको राम्रो साथ पाइरहँदा हलमा भने यसको शोज घटेको छ । अझ, भोलि शुक्रबारदेखि शोजमा भारी गिरावट आएको देखिन्छ ।

यो साता नै हलमा दर्शकको राम्रो उपस्थिती हुँदा पनि अपेक्षित शो यो फिल्मले पाएन । विशेषगरि, पूर्वको इटहरी, विर्तामोड, दमक लगायतका हलमा यो फिल्म शोजमा बढी मार खाएको देखिन्छ ।

नायिका नीता ढुंगानाले फिल्मलाई लिएर अनावश्यक आलोचना गरिएको, समुह नै लागेर नराम्रो बनाउनतिर लागेको आरोप लगाइन् । तर, हलमा शोज नपाएको बिषयमा यसको निर्माणपक्षले अझै खुलेर कुरा गर्न सकेको छैन ।

यो फिल्मले दोस्रो सातामा पाएको शोजमा दर्शकको उच्च चाप भएको खण्डमा पनि ठूलो व्यापार गर्न सक्दैन । जसकाकारण, यो फिल्मको लाइफ टाइम कलेक्शन जुन रुपमा हुनुपर्ने हो त्यो अनुसार नहुन सक्छ ।

चन्द्र पन्तको निर्देशनमा तयार भएको यो फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ । फिल्म हेरेर दर्शक रुँदै पनि निस्किएका छन् । तर, शोजमा भने यो फिल्मले मार खाइरहेको छ ।