काठमाडौं– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय उडान क्षेत्रको भाडादरमा छुट दिन थालेको छ । निगमले २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिन थालेको हो ।
निगमले बिहीबार विज्ञप्ति जारी गर्दै भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, युनाइटेड अरब इमिरेट्स ९यूएई० को दुबई, साउदी अरबको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिता उडानमा छुट घोषणा गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई भाडादर घटाउन विशेष निर्देशन दिएपछि सबै क्षेत्रको भाडादरमा छुट दिन थालिएको निगमको भनाइ छ ।
दिल्ली, मुम्बई र बैंगलोरमा प्रतिटिकट २ हजार ५ सय तथा दोहो, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिताका लागि प्रतिटिकट ५ हजार रुपैयाँसम्म छुट दिइएको हो ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द छ । विमानस्थल सञ्चालन समय घट्दा हवाई भाडा अत्यधिक बढेको गुनासोपछि भाडामा छुट दिइएको निगमले जनाएको छ ।
निगमका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ देखि २२ नोभेम्बर २०२४ सम्म डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसमा दिल्लीको दुईतर्फी उडानमा ३७ जना क्यान्सर रोगीलाई शतप्रतिशत र ती बिरामीका ३३ कुरुवालाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको छ ।
प्रतिक्रिया