Logo

कतीको मुख टालेर सक्छिन् नीता ढुंगाना ?


नायिका नीता ढुंगानाको निर्माणमा बनेको फिल्म ‘ह्रस्व दीर्घ’ आजबाट दोस्रो सातामा प्रवेश गरेको छ । यो फिल्मले पहिलो सातामा ५ करोड माथिको ग्रस कलेक्शन गरेको निर्माण कम्पनीले जानकारी दिएको छ ।

फिल्म ‘ह्रस्व दीर्घ’ दोस्रो सातामा प्रवेश गर्दा यसको शोजहरु खुम्चिएको छ । जसलेगर्दा, यसलाई अब लगानी उठाउन समस्या पर्न सक्छ ।

फिल्म हलमा भने दर्शकको उपस्थिती सुखद छ । दर्शकले पहिलो सातामा फिल्मलाई राम्रो साथ दिए ।

तर, फिल्मले आलोचना पनि भोग्यो । अहिले, फिल्मकी निर्मात्री तथा नायिका नीता ढुंगाना आलोचनाको जवाफ दिदै हिडिरहेकी छिन् । बिहिबार बेलुकी भक्तपुरको क्यूएफएक्स हलमा पुगेकी नीताले आफूहरुलाई सकाउन खोजिएको दोहोर्याइन् । उनले भनिन्–‘अहिले त मानिसहरुले मलाई पनि नराम्रो भन्न थाले । मेरो अभिनयमा पनि खोट लगाउन थाले । मेरो श्रीमान् हरिहर अधिकारीलाई त पहिलेबाट नै नराम्रो भनिरहेका छन् ।’

नीताले फिल्मलाई प्रदर्शकहरुले दिएको शोजमा पनि जवाफ फर्काइन् । उनले भनिन्–‘म नयाँ मेकर हुँ, मलाई किन शोज दिने ? खै किन यसरी हेप्नु भएको हो हामीलाई ?’
नीताले टिकटक वा युट्युबमा फिल्मको बिषयमा नकारात्मक प्रतिक्रिया दिने दर्शकलाई पनि जवाफ दिइरहेकी छिन् ।

आखिर, फिल्म हेरेर निस्किएका दर्शकले दिने प्रतिक्रियामा नीता किन जवाफ फर्काइरहेकी छिन् ।

सबैभन्दा पहिले फिल्मलाई राम्रो भन्ने दर्शक वास्तविक दर्शक, नराम्रो भन्ने दर्शक गिरोह भन्ने भाषा परिवर्तन गर्न आवश्यक छ ।

दर्शकले फिल्मलाई सकारात्मक रुपमा साथ दिइरहेको समयमा नीताले नकारात्मक प्रतिक्रिया दिने सबैलाई जवाफ फर्काएर कहिलेसम्म सक्लिन् र खै ?

प्रतिक्रिया दिनुहोस्