Logo

जनमतकी सासंद गोमालाभ सापकोटालाई पदबाट हटाउन कागजपत्र नपुगेको सभामुखको निश्कर्ष

काठमाडौं– जनमत पार्टीले गोमालाभ सापकोटालाई सांसदबाट हटाउन भन्दै पठाएको पत्र अस्वीकृत भएको छ । सभामुख देवराज घिमिरेले सांसदबाट हटाउने निर्णय कार्यान्वयन गर्न नसकिने जवाफ जनमत पार्टीलाई पठाएका छन् ।

जनमत पार्टीले सापकोटालाई सांसदबाट हटाउन माग गर्दै चारपटक सम्म संसद सचिवालयमा पत्र पठाइसकेको छ । पार्टी अध्यक्ष सीके राउतले १ वर्षदेखि सापकोटालाई हटाउने प्रयास गर्दै आएका छन् । तर,सफल हुन सकेका छैनन् ।

सापकोटालाई पदबाट हटाइएको सूचना सभामुखले टाँस गर्नुपर्ने मागसहित जनमत पार्टीले पहिलो पटक २७ फागुन २०८०, दोस्रोपटक १ चैत २०८०, तेस्रोपटक २७ भदौ २०८१ र चौथोपटक यही कात्तिक २७ गते संसद सचिवालयमा निवेदन दिएको थियो ।

जनमत पार्टीले सापकोटालाई राजनैतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १८ लाई टेकी दलबाट निष्कासन गरी संघीय संसदको सदस्यको पद नरहने गरी सूचना प्रकाशन गर्न निवेदन गरेकोमा निजले पद नै जाने प्रकृतिको कुनै काम गरेको नदेखिएको, दलबाट निष्कासन गरी संघीय संसदको सदस्यको पद नरहने प्रकृतिको अन्य कुनै कानूनले परिभाषित गरेको कसूर गरेको भन्ने समेत नदेखिएको, कारबाहीको सम्बन्धमा तयार गरिएका कागजपत्रहरु विश्वसनीय नदेखिएकोले सभामुखले थप कारबाही अगाडि नबढाउने निर्णय गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्