‘बलिदान’मा समीरको लुक्स यस्तो
निर्देशक सन्तोष सेनले फिल्म ‘बलिदान’को अन्तिम चरणको छायांकन मोरङको बेलबारीबाट सुरु गरेका छन् । यो फिल्मको छायांकन रोकिएको खबरहरु पनि सार्वजनिक भएको थियो । विशेषगरि, फिल्मका प्राविधिकहरुले पैसा नपाएपछि काम रोकेको खबर पनि सार्वजनिक भएको थियो ।
तर, अहिले सबै कुरा मिलाएर निर्देशक सन्तोष सेनले अन्तिम चरणको छायांकन सुरु गरेका छन् । फिल्मको अन्तिम चरणको छायांकन ४५ दिनसम्म गर्ने तयारी उनको छ । फिल्मको छायांकन सकेको भोलिपल्ट टिजर सार्वजनिक गर्दै रिलिज मिति पनि तय गर्ने उनको भनाई छ ।
फिल्म ‘बलिदान’मा नायक समीर भट्टको मुख्य भूमिका छ । विशेषगरि, फिल्ममा समीरलाई ‘यूग पुरुष’को भूमिकामा देखाउने तयारी सन्तोषको छ । यसैबिच, सन्तोषले फिल्मको छायांकन सेटबाट सार्वजनिक गरेको तस्वीरमा समीरको गेटअप हेर्न सकिन्छ । सन्तोषले यो तस्वीर सार्वजनिक गर्दै समीर फिल्मको छायांकनमा रहेको र काम गरिरहेको पनि देखाउन खोजेका छन् ।
फिल्ममा समीरको साथमा अर्पण थापा, सौगात मल्ल, ऋचा शर्माको मुख्य भूमिका छ । फिल्ममा समीरको एक्सन अवतार हेर्न सकिन्छ । साथमा, आमा र छोराबिचको कथा पनि फिल्ममा प्रस्तुत गरिनेछ ।