काठमाडौं- अबको एक हप्तामा नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदैछ । मंसीर १५ बाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको पहिलो संस्करणको खेललाई लिएर क्रिकेट समर्थकहरुमा उत्सुकता बढेको छ ।
संसारभर चर्चित विदेशी खेलाडीहरूको सहभागिता, करोडौँको लगानीले एनपीएलप्रति नेपाली क्रिकेट समर्थकको चासो बढेको छ । लिगमा सहभागि ८ फ्रेञ्चाइज टिमले आफ्नो प्रचारप्रसारपनि जोडतोडले गरिरहेका छन् ।
नेपाल प्रिमियर लिग हालसम्म हुनेगरेका प्रतिस्पर्धामध्ये सबैभन्दा महँगो प्रतिस्पर्धा हो । यसको झन्डै ७० देखि ८० करोड रुपैयाँको बजेट लाग्ने आकलन गरिएको छ । विगतमा एभरेस्ट प्रिमिअर लीग (इपीएल), धनगढी प्रिमिअर लीग (डीपीएल), पोखरा प्रिमिअर लीग (पीपीएल) र नेपाल टी–२० लीगको नाममा फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपालमा भइसकेका छन् ।
यसपटक भने नेपाल क्रिकेट संघ (क्यान) कै आयोजनामा एनपीएल भएको छ । यस लिगबाट भएका आम्दानी क्यानले नै पाउनेछ । जुन नेपालमा क्रिकेट विकासका लागि नै खर्च हुनेछ ।
क्यानले एनपीएलमा सहभागी हुने ८ वटा फ्रेञ्चाइज टोलीलाई लिग खेल्नका लागि फ्रेनचाइज शुल्क उठाएर१७ करोड आम्दानी गरिसकेको छ। एनपीएलको कमर्सियल राइट्सको अधिकार ब्रान्ड डिजिटल लजिक प्रालिलाई बेचेर क्यानले ५ करोड ९२ लाख रुपैयाँ प्राप्त गरेको छ।
एनपीएलका खेलमा हेर्ने दर्शकहरुलाई टिकट बिक्री गरेर पनि क्यानले आम्दानी गर्नेछ । यस्तै क्यानलृ एनपीएलबाट गरेको आम्दानीको ५० प्रतिशत रकम आठवटा फ्रेञ्चाइज टोलीसँग बाँड्नेछ ।
एनपीएलका कारण स्थानीय स्तरदेखि राष्ट्रिय टोलीमा सहभागी खेलाडीहरुले राम्रो अवसर र मूल्य पाएका छन् । विभिन्न तीन श्रेणीका खेलाडी कम्तीमा २ लाख र बढीमा २० लाखसम्ममा फ्रेन्चाइज टोलीमा अनुबन्धित धएका छन् ।
विश्वभर क्रिकेट खेलको प्रसारणमा चर्चा पाएको भारतीय स्पोर्टस च्यान स्टार स्पोर्ट्समा एनपीएल प्रत्यक्ष प्रसारण हुनेभएको छ । क्यानले शुल्क तिरेर नै स्टार स्पार्टमा एनपीएल लाइभ देखाउने भएको छ । यसले विश्वभरका क्रिकेट प्रेमीले नेपाली खेलाडीका प्रतिभा देखाउन सकिने विश्वास लिइएको छ ।
यद्यपी प्रत्यक्ष प्रसारणको विषयलाई लिएर तीन निकाय नेपाल विज्ञापन सङ्घ, राष्ट्रिय विज्ञापन सङ्घ नेपाल र मिडिया अलायन्स नेपालले विरोध गरिरहेका छन्। उक्त विषय सर्वोच्च अदालतमा पुगेको छ ।
खेलाडी र दर्शकले कीर्तिपुर मैदानमा एनपीएलका दौरान थुप्रै नयाँ विषयहरू महसुस गर्ने पक्का छ। यस्तै एनपीएलकै लागि भनेर क्यानले कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नति गरेको छ।
राष्ट्रिय खेलकुद परिषद्ले मैदानमा डिजिटल स्कोर बोर्ड निर्माण गरेको छ । मैदानमा पिचको पुनर्निर्माण र बाउन्ड्री क्षेत्र बढाउने काम भएका छन् ।
अस्थायी प्यारापिटमा दर्शक बस्ने सुविधा थपिएको छ । मैदानमा प्रवेश गर्नका लागि ६ वटा ’जोन’ छुट्याइएको छ। त्यस्तै भीआईपी टिकट, भीभीआईपी लाउन्ज र ओनर्स लाउन्ज पनि निर्माण गरिएको छ । त्यस्तै नयाँ साइड स्क्रिन, मिडिया बक्स र अभ्यास पिच पनि नयाँ बनाइएको छ।
यसपटक एनपीएलमा प्रतिस्पर्धा गर्न ८ फ्रेन्चाइज टोलीकका १६ देशका कम्तीमा ३२ विदेशी खेलाडी कीर्तिपुर मैदानमा उत्रिनेछन्। विदेशी खेलाडीमा भारतका चर्चित खेलाडी शिखर धवन, न्युजिल्याण्डका मार्टिन गुप्टिल, अस्ट्रेलियाका बेन कटिङजस्ता खेलाडीहरु एनपीएलमा सहभागी हुनेछन् ।
प्रतिक्रिया