आज १५ हजार ९ सयले घट्यो सुनको मूल्य, यस्तो छ घट्नुको कारण


काठमाडौं– लामो समयदेखि लगातार बढीरहेको सुनको मूल्यमा आज एकैदिन घटेको छ । आज सुनको मूल्य एकैदिन १५ हजार ९ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।

सरकारले सुन चाँदीमा लगाउँदै आएको भन्सार करको दर घटाएपछि एकैदिन सुनको मूल्य १५ हजार ९ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । हिजो एक तोला सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार गरेको थियो ।

सरकारले सुन र चाँदीको भन्सारदर २० प्रतिशत लिँदै आएको थियो । उक्त दर घटाएर हाल १० प्रतिशत बनाएको छ । सुनको भन्सार दर १० प्रतिशत घट्दा सोमबारदेखि मूल्य समायोजन गरिएर सुनको मुल्य घटाइएको महासंघले जनाएको छ ।

आर्थिक वर्ष २०८१÷८२ को बजेटमार्फत सरकारले १५ प्रतिशत रहेको भन्सार दर २० पुर्‍याएको थियो । तर छिमेकी देश भारतले बजेटमा सुनको भन्सार दर घटाएको थियो । जसकारण नेपालमा सुनको मूल्य महँगो र नेपालमा भन्दा भारतमा सुनको मूल्य निकै सस्तो भएको थियो ।

यस्तो हुँदा औपचारिक प्रणालीबाट आउने सुनको परिमाणमा भारी गिरावट देखिएको छ । बजारमा तस्करीको सुन आएको आशंका गरिएको छ । भारतबाट सुन तस्करी भएर नेपालमा नआओस् भन्ने उद्देश्यले दर घटाउने निर्णय भएको भन्सार विभागले जनाएको छ ।