काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको ट्रफी अनावरण गरिएको छ । धरहरा परिसरमा आज बिहान एक कार्यक्रमको आयोजना गरेर ट्रफी सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको ट्रफी अनावरण गरेका थिए।
प्रधानमन्त्रीसहित एनपीएलमा सहभागी रहेका ८ टिमका मार्की खेलाडीहरुले ट्रफी अनावरण गरेका हुन् । अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एनपीएलमा सहभागी सबै टिमलाई आफ्नो समर्थन रहेको बताएका छन् । उनले भने, ‘अहिले सबैलाई शुभकामना दिन्छु, जितेपछि जित्नेलाई बधाई दिन्छु ।’
प्रधानमन्त्री ओलीले एनपीएलले पर्यटन प्रवर्द्धन पनि गर्ने विश्वास व्यक्त गरे । सरकारले खेलकुद क्षेत्रलाई आवश्यकता अनुसार प्रोत्साहन गर्न नसकेको पनि उनले स्विकार गरेका छन् ।
यस्तै हिमाल आरोही निमा शेर्पा र मिङ्मा शेर्पाले एनपीएलको ट्रफीमा प्रयोग गरिएको ढुंगा ल्याएका थिए । ट्रफी अनावरण कार्यक्रममा निमा शेर्पा र मिङ्मा शेर्पालाई खादा ओढाएर सम्मानसमेत गरिएको छ ।
सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा नै एनपीएलको ट्रफीको मूख्य आकर्षण रहेको नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले बताएका छन् । उक्त ट्रफी ट्रफीमात्र नभई विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश समेत रहेको उनको भनाई छ ।
एनपीएलको पहिलो संस्करण यही मंसिर १६ गतेदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरु हुनेछ । उक्त संस्करण पुस ६ गते सम्पन्न हुने छ ।
प्रतिक्रिया