कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि मुद्दा नचल्ने, अन्य ११ जनाविरुद्ध भने मुद्दा दर्ता गर्ने जिल्ला सरकारी वकिल कार्यालय
काठमाडौं– कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि मुद्दा नचल्ने भएको छ । मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीमाथि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो ।
अन्य ११ जनाविरुद्ध भने मुद्दा दर्ता हुने भएको हो ।
एमाले नेता अधिकारी मानव तस्करीको आरोपमा गत कार्तिक २५ गते विराटनगरबाट पक्राउ परेका थिए । पक्राउ परेलगत्तै उनलाई जहाजमार्फत काठमाडौं अनुसन्धानका लागि ल्याइएको थियो ।
जापानमा आयोजित एक कार्यक्रम जान तत्कालीन मन्त्री अधिकारीले मन्त्रालयसँग असम्बन्धित मान्छेलाई लिएर गएको खुल्न आएको थियो । जापानको अध्यागमन विभागले मन्त्री अधिकारीसँग गएका तीन जनासहित उनलाई पनि डिपोर्ट गरेपछि सो घटना बाहिरिएको थियो । सो घटनामा मन्त्री अधिकारीसँग जापान गएका तीन जनासहित ६ जनालाई प्रहरीले सोही समय पक्राउ गरेको थियो ।