श्रीमती र छोराछोरीबाट छुट्कारा पाउन आफ्नै मृत्युको नाटक


अमेरिका– अगस्ट १२ मा अमेरिकाको विस्कन्सिन राज्यको वाटरटाउनबाट ४४ वर्षिय पुरुष हराए । तीन सन्तानको पिता र्‍यान बोर्गवार्ड्ट ग्रिन लेकमा डुङ्गाबाट सयरका लागि गएका थिए । छोटो समयको लागि ग्रिन लेकमा गएका उनी फकिएर आएनन् ।

उनी नफर्किएपछि तत्कालै खोजी कार्य सुरु गरियो । तालमा पल्टिएको अवस्थामा उनको डुंगा भेटियो । तान नजिकको पार्कमा उनको गाडी र ट्रेलर पनि फेला पर्‍यो । एक दिनपछि स्थानीय मछुवाराले र्यानको माछा मार्ने रड र उनको केही सामान भएको बाकस पनि भेटे । यी सबै प्रमाणहरु भेटिएपछि तालमा डुबेर ती पुरुषको मृत्यु भएको हुनसक्ने आशंका गरिएको थियो ।

तर उनको शव खोज्ने क्रममा र्यानको मृत्यु नभई अमेरिकाको सीमा पार गरेर क्यानडातिर गएको प्रमाण भेटियो । र्यानले आफू बेपत्ता हुन पहिले नै सबै तयारी गरिसकेका थिए । उनले नयाँ पासपोर्ट झिकेका थिएभने कम्प्युटरको हार्ड ड्राइभ फेरेर सबै सर्च हिष्ट्री मेटाएका थिए । जीवन बीमाको ३ लाख ७५ हजार अमेरिकी डलर पैसा झिकेर विदेशी खातामा राखेका थिए । आफ्नो इमेलसमेत परिवर्तन गरे अनि उज्वेकिस्तानमा एक महिलासँग कुरा गरे ।

यी सबै प्रमाण भेट्टिएपछि र्यानले श्रीमती र तीन सन्तानलाई छाड्न आफ्नो मृत्युको प्रपञ्च रचेको थाहा भयो । उनले अर्को विवाह गर्नका लागि पहिलो श्रीमती र सन्तानसामू मृत्युको नाटक गरेको अनुमान गरिएको छ ।

सोपछि नोभेम्बर ११ मा अनुसन्धानकर्ताहरूले र्‍यानसँग सम्पर्क गरेका थिए । त्यसयता उनीसँग नियमित सम्पर्क भइरहेको बताइएको छ ।आफू बेपत्ता भएको २ हप्तामा त शव खोज्ने काम रोकिएला भन्ने आशा आफूले गरेको र आफूले गरेको हर्कतप्रति पछुतो रहेको उनले बताएका छन् । यद्यपी उनले आफ्नो मृत्युको नाटक रचेर श्रीमती र छोराछोरीलाई किन पीडा दिएको भनेर बताइसकेका छैनन् ।

उनी घर फर्किएर आफूले सृजना गरेको सबै भद्रगोल मिलाउँछन् भन्ने आशा आफूहरूले गरेको अनुसन्धानकर्ताहरुको भनाइ छ ।