आफ्नै बोलीले करिश्मालाई गाह्रो



नेपाली कलाकारहरु कुनै पनि अन्तरवार्तामा के बोल्ने भनेर पहिले नै तयारी गर्दैछन् । क्यामेरा अगाडि देखेपछि मनमा आएका सबै कुरा बोलिदिन्छन् । तर, पछि ती कुराहरु विवादित बनेपछि उनीहरुलाई अप्ठ्यारो पर्छ । अनी, मैले यो कारणले बोलेको होइन भन्दै उफ्रिन्छन् ।

अझ, मिडियाले नै यसो गर्यो र उसो गर्यो भन्दै गाली गर्न पछि पर्दैनन् । अहिले, नायिका तथा मोडल करिश्मा श्रेष्ठ यस्तै एउटा विवादमा परेकी छिन् । करिश्माले हालै मात्र दिएको एक अन्तरवार्तामा पूर्व प्रेमीको बिषयमा बोलेको कुराले विवाद भयो ।

उनले, अन्तरवार्तामा कुनै पनि व्यक्तिको नाम त लिएकी छैनन् । तर, आफूलाई यसो र उसो गथ्र्यो भनेर उनले जवाफ दिएकी छिन् । कतिपय बोल्न नहुने गोप्य कुराहरु समेत उनले खोलेकी छिन् ।

उनले, कुनै पनि व्यक्तिको नाम नलिएपनि उनका पूर्व प्रेमी सलोन बस्नेतप्रति लक्षित गरेको धेरैको वुझाई छ । यहीकारणले, यो बिषय बढी विवादित भयो ।

विवादमा परेपछि करिश्माले स्पष्टिकरण दिएकी छिन् । उनले भनेकी छिन्–‘मानिसहरुले कुरा नै नवुझेर प्रतिक्रिया दिएका छन् । म मिडियालाई एल्लो जर्नालिज्म नगर्न आग्रह गर्दछु । मैले, सलोन बस्नेतलाई भनेकी नै होइन । मैले अन्तरवार्तामा कसैको पनि नाम लिएकी छैनन् । यसैले, यो विवादलाई अगाडि नबढाउन आग्रह गर्दछु ।’
करिश्मालाई अहिले आफ्नो बोली भारी परिरहेको छ ।