तत्कालीन क्याम्पस प्रमुखलाई गोली प्रहार गरि हत्या गर्ने मूख्य आरोपी पक्राउ


काठमाडौं– गत जेठमा बाराको कलैयास्थित रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुखको हत्या आरोपी पक्राउ परेका छन् । हरिभुषण कुशवाहाको हत्या आरोपमा बाराको आदर्शकोतवाल गाउँपालिका २ का ४१ वर्षीय सुरेन्द्रप्रसाद कुशवाहालाई प्रहरीले पक्राउ गरेको छ ।

उनी नेपाली सेनाका भगौडा तथा गाउँघरमा सबैलाई त्रसित बनाउने पृष्ठभूमिका व्यक्ति भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् डिएसपी प्रकाश सापकोटाले बताएका छन् ।

क्याम्पस प्रमुख कुशवाहामाथी गत जेठ ३२ गते आदर्शकोतवाल गाउँपालिका २ खजुरीया भन्ने ठाउँबाट कलैयातर्फ आउँदै गर्दा गोली प्रहार भएको थियो । मृत्यु अघि क्याम्पस प्रमुख कुशवाहाले सुरेन्द्रले आफूमाथि गोली प्रहार गरेको बताएको प्रहरीको भनाई छ ।

घटना पश्चात फरार रहेका सुरेन्द्र सुरेन्द्र भारतका विभिन्न स्थानमा लुकेर बस्दै आएका थिए । उनलाई विशेष टोलीले विराटनगरबाट पक्राउ गरेर बुधबार बारा ल्याएको थियो ।

तत्कालिन क्याम्पस प्रमुखको हत्याका मुख्य आरोपी सुरेन्द्रसहित १७ जनाको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।

अनुसन्धानको क्रममा चन्द्रमणी प्रसाद कुशवाहा, चाँदशी प्रसाद कुशवाहा, सुमेद कुमार कुश्वाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अवधलाल कुशवाहा, चुल्हाई भन्ने श्रवण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरी पक्राउ परेका थिए । तीमध्ये राधेश कुमार पटेल र विनोद राउत कुर्मी कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाराबाट धरौटीमा छुटेका छन् भने अरु ८ जना पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

उक्त घटनामा प्रयोग भएको पेस्तोल २ थान, गोली ७ राउण्ड, मोटरसाइकल चार थान, मोबाइल चार थान, ल्यापटप २ थान र सिमकार्ड ७ थान बरामद भएको छ ।

हत्याका मुख्य आरोपी सुरेन्द्रमाथि ज्यान सम्बन्धी र हातहतियार खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता भई प्रारम्भिक सुनुवाइ समेत पुरा भएको प्रहरीले जानकारी दिएको छ ।