प्रधानमन्त्रीको चीन भ्रमणः नौ सांसदसहित ८७ जनाको जम्बो टोली जाँदै


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण स्वीकृत भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ओलीको चीन भ्रमण स्वीकृत गरेको हो । प्रधानमन्त्री ओली सोमबार ५ दिने भ्रमणका लागि बेइजिङ प्रस्थान गर्नेछन् ।

बिहीबार मन्त्रिपरिषद्बाट स्वीकृत भएको भ्रमणमा संघीय संसद्का ९ सांसद पनि परेका छन् । ओलीसँगै चीन जानेमा सत्तारुढ दल एमालेका सांसदद्धय लिलानाथ श्रेष्ठ र बिजुला रायमाझी,नेपाली कांग्रेसका सांसदद्धय श्यामकुमार घिमिरे र अर्जुननरसिंह केसी, तथा सांसदहरु रेखा शर्मा, वीरेन्द्रप्रसाद महतो, दीपक कार्की, रञ्जिता श्रेष्ठ, र सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।

३२ जना सरकारी र ५५ जना निजी क्षेत्रका व्यक्तिसहित ८७ जनाको टोली प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सहभागी हुनेछ । ९ जना सांसद बाहेक प्रधानमन्त्रीसँग धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक एवम् विकास सल्लाहकार डा। युवराज खतिवडा रहेका छन् ।

त्यस्तै, मुख्य सचिव एकनारायण अर्याल, अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे, परराष्ट्र मन्त्रालय का।मु सचिव अमृत बहादुर राई, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायत रहेका छन् ।