गर्भवतीलाई नगद,निःशुल्क एम्बुलेन्ससहित ल्याब सेवा


काठमाडौँ – झापाको हल्दिबारी गाउँपालिकाले गर्भवतीलाई नगदसहित निःशुल्क एम्बुलेन्स र प्रयोगशाला सुविधा उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहन गर्ने उद्देश्यले पालिकाले  ‘सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरेको हो । यसबाट विपन्न महिलालाई सहयोग पुगेको छ ।

गाउँपालिकाले ‘सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रम’अन्तर्गत आठपटक नियमित गर्भजाँच गराउने महिलालाई प्रोत्साहनस्वरुप रु दुई हजार प्रदान गर्दै आएको छ । पालिकाभरि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनका साथै पालिका बाहिर जानुपरेमा ५० प्रतिशत छुटका व्यवस्था छ । यस्तै निःशुल्क प्रयोगशाला सुविधा दिँदै आइरहेको छ ।

उक्त कार्यक्रमअन्तर्गत गाउँपालिकाले गत आवमा चार लाख २९ हजार खर्च गरेकाे  थियाे  ।

साथै गाउँपालिकाले विपन्न नागरिकको उपचारमा सहयोग गर्ने उद्देश्यले जनता उपचार कोष पनि स्थापना गरेको छ । गत आवमा उक्त कोषबाट पाँच लाख २८ हजार सहायता प्रदान गरिएको थियो । चालु आवमा हालसम्म कोषमार्फत एक लाख पाँच सय आर्थिक सहयोग परिचालन पालिका अध्यक्ष लिङ्देनले बताएका छन् ।