सामाजिक सञ्जाल प्रयोगको विषयलाई लिएर अष्ट्रेलियामा संसारकै सबैभन्दा कडा कानुन पारित


काठमाडौं– अस्ट्रेलियामा फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता सामाजिक सञ्जालहरूलाई नियन्त्रणमा लिने सबैभन्दा कडा कानुन पारित भएको छ । त्यहाँका सांसदहरुले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक नियमहरू पारित गरेका हुन् ।

सदनबाट विधेयक पारित भएपछि सामाजिक सञ्जाल कम्पनीहरूले चाँडै बालबालिकालाई आफ्नो प्लेटफर्ममा खाता खोल्नबाट रोक्न ‘उचित कदम’ चाल्ने अपेक्षा गरिएको छ । ऐनको पालना नगरे कम्पनीहरुले पाँच करोड अस्ट्रेलियन डलरसम्म जरिबाना तिर्नुपर्ने व्यवस्था गरिएको छ । यसलाई सोसल मिडिया प्लेटफर्म सञ्चालक कम्पनीहरूले ‘अस्पष्ट’, ‘समस्याग्रस्त’ ऐन भएको र कानुन निर्माणको लागि हतार गरेको भन्दै आलोचना गरेका छन् ।

यस विधेयक बुधबार संसद्को तल्लो सदनबाट र बिहीबार साँझ सिनेटबाट पारित भएर कानुन बनेको हो । प्रधानमन्त्री एन्थोनी अल्बानिजले यस कानुनको उत्साहपूर्वक समर्थन गरेका छन् । अस्ट्रेलियाका अभिभावकहरूलाई पनि सामाजिक सञ्जालबाट टाढा रहन उनले आह्वान गरेका छन् ।

यस कानुन सामाजिक सञ्जालहरूमाथि लगाइएको सबैभन्दा कडा प्रतिबन्ध मध्येको एक हो । तर, हालको विधेयकमा व्यवस्था गरिएका नियमहरू कसरी लागू गरिनेछ भन्नेबारे पर्याप्त विवरणहरू भने नभएको जनाइएको छ । जसका कारण विशेषज्ञहरूले लागू गर्न असम्भव कानुन हो भन्ने चिन्ता व्यक्त गरेका छन् । यस कानुनको विस्तृत नियम तयार हुन र प्रतिबन्ध लागू हुन कम्तीमा १२ महिना लाग्ने बताइएको छ ।

सामाजिक सञ्जालमध्ये ह्वाट्सएप र युट्युब जस्ता केही कम्पनीहरुलाई लिएर भने केही उदार हुनसक्ने अनुमान गरिएको छ। किनभने यस्ता प्लेटफर्मबाट किशोरकिशोरीहरूले मनोरञ्जन लिने, स्कूलको काम वा अन्य प्रयोजनाका लागि प्रयोग गर्दै आएका छन् ।