दुर्गा प्रसाईंलाई थप पाँच दिन थुनामा राख्न अनुमति


काठमाडौं– साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंले उनलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

सिआइबीले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट गत मंसिर ४ गते पक्राउ गरेको थियो। उनलाई पक्राउपछि ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । पहिलोपटकको म्याद सक्किएपछि उनलाई आइतबार पनि पाँच दिनको म्याद थपिएको थियो । जुन आज सक्किएको हो ।

प्रसाईले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा अबौँको लगानी गरेको भन्दै गम्भीर आरोप लगाएका थिए । उनले सामाजिक सञ्जालबाट ‘फेक डकुमेन्ट’ समेत सार्वजनिक गरेका थिए ।

प्रसाईविरुद्ध यसअघि पनि साइबर अपराधमा मुद्दा दर्ता भएको थियो । सामाजिक सञ्जालबाट रास्वपा नेतृको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका उनी १ लाख धरौटी तिरेर थुनामुक्त भएका थिए । उक्त मुद्दा हालपनि विचाराधीन छ ।