हँसियाले हानेर श्रीमतीको हत्या


कैलाली– कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी नेपाल प्रहरीका सेवा निवृत्त प्रहरी सहायक निरीक्षक(असई)ले श्रीमतीको हत्या गरेका छन् ।

भीमदत्त नगरपालिका– ८ तिलाचौरका ४८ वर्षीय नरेन्द्रसिंह बिष्टले ३० वर्षीया श्रीमती ज्योतिको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीको अनुसार नरेन्द्रले घाँटीमा हँसिया प्रहार गरेका थिए । हिजो राति करिब ८ बजेतिर ज्योतिको हत्या भएको प्रहरीले जनाएको छ । हत्यालगत्तै नदेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक ज्योति नरेन्द्रकी कान्छि श्रीमती हुन् । पहिलो श्रीमतीको मृत्युपछि नरेन्द्रले ज्योतिलाई दोस्रो श्रीमतीको रुपमा भित्र्याएका थिए । केहि वर्षअघिमात्र उनीहरुको विवाह भएको थियो । यसअघि पनि उनीहरुबिच विवाद र झगडा हुने गरेको थियो ।

श्रीमतीको हत्या आरोपमा पक्राउ परेका नरेन्द्रविरुद्ध कर्तव्य ज्यानमा मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ । यस्तै ज्याेतिको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।