ठमेल क्षेत्रमा ट्याक्सीबाट महिलालाई यौनधन्दामा लगाएको आरोपमा दुई जना पक्राउ


काठमाडौं– काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रमा ट्याक्सीमा महिलाहरूलाई राखेर यौनधन्दामा लगाउने गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

महिलाहरुलाई ललाई फकाई ग्राहकहरुसँग यौन सम्पर्क राख्न बाध्य पारेको आरोपमा दुई जनालाई प्रहरीेले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका–१ घर भएर बालाजु बस्ने सूर्य बहादुर तामाङ उर्फ प्रितम र रामेछापको उमाकुण्ड गाउँपालिका–५ घर भएर कागेश्वरी मनोहरा बस्ने चेत बहादुर कटुवाल रहेका छन् ।

सूर्य बहादुर बा२ ज ५१४३ नम्बरको ट्याक्सी चालक हुन् भने कटुवाल बा २ ज ५१८६ नम्बरको ट्याक्सीका चालक हुन् । यी दुई ट्याक्सीबाट ६ जना महिलाको उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आरोपीहरूले ‘काममा लगाइदिन्छौ’ भनेर महिलाहरुको कमजोर आर्थिक अवस्थाको फाइदा लिएर यौन सम्पर्क गर्न बाध्य बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । उनीहरू विरुद्ध प्रहरी वृत्त दरबारमार्गले मानव बेचबिखन तथा ओसारपसार अन्तर्गतको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।