काठमाडौं– एउटा केराको मूल्य कति पर्छ? १० रुपैयाँ, २० रुपैयाँ या सो भन्दा बढी । तर एउटा केरा हालसालै ६२ लाख अमेरिकी डलर (८ अर्ब ३६ करोड रुपैयाँ बढी) मा बिक्री भएको छ ।
यो केरा ३४ वर्षीय चिनियाँ क्रिप्टोकरेन्सी व्यवसायी जस्टिन सनले खरिद गरेका हुन् । उक्त केरा इटालियन कलाकार मौरिज़ियो कातेलानको विवादास्पद कलाकृति ‘कोमेडियन’ हो । २०१९ मा एउटा केरालाई डक्ट टेपले भित्तामा टाँसेर एउटा कला बनाइएको थियो ।
न्युयोर्कस्थित सोथबीज लिलामी गृहमा उक्त कलालाई जस्टिनले अन्य ६ प्रतिस्पर्धीलाई पछि पार्दै किनेका थिए । त्यसपछि हङकङमा हालै पत्रकार सम्मेलन गरेर उनले उक्त केरा खाएका छन् ।
उक्त कलाकृतिमा प्रयोग भएको केरा वास्तविक केरा हो । सन् २०१९ मा पहिलो पटक यो कलाकृति सार्वजनिक भएलगत्तै भाइरल भएको थियो । यो कलाकृति संसारभर घुमिसकेको छ । जब जब टेपले टाँसेको केरा सड्न थाल्छ यसलाई बदलेर पुन अर्को केरा राख्ने गरिएको छ । यो कलाकृति ६२ लाख अमेरिकी डलरमा बिक्री हुनुभन्दा अघि ३५ सेन्टमा नयाँ केरा किनेर राखिएको थियो । उक्त केरा हालसम्मकै सबैभन्दा महँगो फल बनेको छ ।
जस्टिनले उक्त कलाकृति खरिद गर्दा यसको प्रदर्शन गर्न पाउने अधिकार र केरा बदल्ने तरिकाको मार्गदर्शनको अधिकार पनि खरिद गरेका थिए ।
उनले केरा खानको लागि गरेको पत्रकार सम्मेलनमा उपस्थित सबैलाई एउटा एउटा केरा र डच टेप पनि उपलब्ध गराएका थिए । उनले कोमेडिनको केरा खाँदै कला जगत्को यो नयाँ इतिहास हुनसक्ने बताएका थिए ।
उक्त कलाको केरालाई यसअघिपनि दुईपटक खाइएको थियो । पहिलो पटक २०१९ मा एक कलाकारले खाएका थिए भने दोस्रो पटक २०२३ मा एक दक्षिण कोरियाली विद्यार्थीले त्यस्तो केरा खाएका थिए । तर, दुवै जनाले उक्त कलायुक्त केरा खान पैसा तिरेका थिएनन् । तर, जस्टिनले ६२ लाख डलर क्रिप्टोकरेन्सीमा तिरेका हुन्।
आफू यो कलाकृतिबाट प्रभावित भएर खरिद गरेको उनले बताएका छन् ।
प्रतिक्रिया