काठमाडौं– अभिनेत्री नीता ढुंगानाको निर्माण तथा अभिनय रहेको सिनेमा ‘ह्रस्व दीर्घ’ अहिले तेस्रो हप्तामा प्रदर्शनरत छ । तेस्रो हप्तामा प्रवेश गरेको सिनेमाले दुई हप्तामा गरेको ग्रस कलेन्सनको आँकडा निर्माण पक्षले सार्वजनिक गरेको छ ।
निर्मात्री तथा अभिनेत्री ढुंगानाले शनिबार बिहान फेसबुकमार्फत् फिल्मले १४ दिनमा ८ करोड ५२ लाखको व्यापार गरेको जानकारी दिएकी थिइन् । पहिलो हप्ता ५ करोड ५४ लाख ग्रसकलेक्सन गरेको थियो । दोस्रो हप्तामा सिनेमाले थप २ करोड ९८ लाख कमाएको नीताको दाबी रहेको छ ।
‘ह्रस्व दीर्घ’ले प्रदर्शनको तेस्रो हप्ता देशभर लगभग ५० शो पाएको छ । यद्यपि, नेपालभर नै राम्रो व्यापार गरेपनि अन्य सहरमा भन्दा तुलनात्मक रुपमा नेपालगञ्ज र दाङमा सिनेमाको व्यापार अझै राम्रो छ ।
ह्रस्व दीर्घले नेपालमा मात्रै विदेशमा पनि राम्रो व्यापार गरिरहेको यो सिनेमाको विदेश वितरक सेभेन सिज इन्टरटेमेन्टले जनाएको छ । अहिले सिनेमा अष्ट्रेलिया, न्युजल्याण्ड, जापान, दक्षिण कोरिया, जापान र मध्य पूर्वका धेरै देशमा प्रदर्शन भैरहेको छ । विस्तारै अमेरिका, क्यानडा, युरोपका विभिन्न देशमा रिलिजको तयारी भैरहेको निर्मात्री नीता ढुंगाना बताउँछिन् ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।
सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।
अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा तेलुगु र हिंन्दी भाषामा पनि रिलिज हुने तयारीमा छ ।
प्रतिक्रिया