भोली पनि काठमाडौंमा रविको बयान लिने काम जारी रहने


 

काठमाडौं– स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा बयानका लागि पोखराबाट काठमाडौं ल्याइएको पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान भोली पनि जारी रहेको छ ।

कालिमाटीमा सञ्चालित स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा अनुसन्धानका लागि उनलाई बिहीबार काठमाडौं ल्याइएको थियो । उनलाई ल्याएर भद्रकालीस्थित काठमाडौं प्रहरीको हिरासतमा राखिएको छ ।

बिहीबार राति ल्याइएका उनलाई शुक्रबार बिहानैदेखि जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सुरु भएको थियो । शुक्रबार बयान नसक्किएपछि आइतबार पनि बयान लिइएको छ ।

आज बयान नसक्किएकाले भोलि बयान सिध्याएर पोखरा पठाउने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अपराह्न ४ बजेभित्र बयान सकिने जनाएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा अनुसन्धान गर्न लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउलगत्तै कास्की लगिएका लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेर अनुसन्धान थालिएको थियो। उनीविरुद्ध सहकारीको रकम अपचलन, सङ्गठित अपराध र सम्पत्ति सुद्धीकरण मुद्दामा प्रहरीले अनुसन्धान गरिएको छ ।

कास्की प्रहरीको हिरासतमा लामिछाने रहिरहँदा उनीविरुद्ध रूपन्देही, काठमाडौं र चितवनमा पनि सहकारी रकम अपचलनको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भए ।

यसअघि उनलाई रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको बचत हिनामिनाको आरोपमा पोखराबाट रुपन्देही लगेर बयान लिइएको थियो । यस्तै चितवनको साहरा चितवन बहुउद्देश्यीस सहकारी संस्थाको रकम अपचलन गरेको भन्दा लामिछानेसहित १० जनाविरुद्ध सहकारी बचतकर्ताले जिल्ला प्रहरी कार्यालयमा पूरक जाहेरी दिएका छन् ।